बारा मधेस प्रदेश

पुरानोलाई पाखा लगाउने बाराका ४ सांसदलाई लखेटे रास्वपाका कार्यकर्ता

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टीका पुराना कार्यकर्तालाई पाखा लगाएर नयाँ समूहले संगठन कब्जा गर्न खोजेको आरोप लगाउँदै असन्तुष्ट कार्यकर्ताहरूले बाराका चार सांसदविरुद्ध नाराबाजी गरेका छन् ।

कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठक तथा छलफल कार्यक्रमका क्रममा विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कार्यक्रममा सहभागी कार्यकर्ताहरूले “पुराना कार्यकर्ताको अपमान बन्द गर”, “एकलौटी निर्णय मान्दैनौं” जस्ता नाराबाजी गर्दै विरोध जनाएका थिए ।

पार्टी स्रोतका अनुसार जिल्ला सभापति चन्दन सराफ स्वर्णकारलाई साधारण सदस्य समेत नरहने गरी कारवाही तथा निष्कासन सिफारिस गरिएको विषयपछि कार्यकर्ताहरू आक्रोशित बनेका हुन् । असन्तुष्ट समूहले उक्त निर्णय पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्यविपरीत रहेको आरोप लगाएका छन् ।

विवादका बीच रास्वपाका सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द साह र रहबर अन्सारी विरुद्ध कार्यकर्ताहरू खुलेर उत्रिएको बताइएको छ ।

एक कार्यकर्ताले भने, “पार्टी बनाउन रातदिन खटिएका पुराना साथीहरूलाई हटाएर भर्खरै आएका व्यक्तिलाई प्राथमिकता दिन खोजिएको छ । यसले संगठन कमजोर बनाउँछ ।”

घटनापछि केही समय कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन नेताहरूले कार्यकर्तासँग छलफल गरेका थिए । यद्यपि विवाद भने अझै साम्य हुन सकेको छैन ।
यस विषयमा सम्बन्धित सांसद तथा जिल्ला नेतृत्वको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *