बारा

आन्तरिक मतभेदमा बाराका पत्रकार, साधारणसभा तथा पुरस्कारमा गुटबन्दीको खेल

सुरज विक्रम बारा ,! नेपाल पत्रकार महासंघ बारा शाखाभित्रको आन्तरिक विवाद अहिले चरम अवस्थामा पुगेको छ। जेठ ९ गतेका लागि तय गरिएको साधारणसभा अन्तिम समयमा स्थगित भएपछि पत्रकारहरूबीचको गुटबन्दी र शक्ति संघर्ष खुला रूपमा सतहमा आएको हो।
महासंघ स्रोतका अनुसार साधारणसभा सफल हुन नदिन केही पत्रकारहरू नै सक्रिय बनेपछि कार्यक्रम प्रभावित भएको आरोप लगाइएको छ। विशेषगरी पत्रकारिता पुरस्कार वितरण, आर्थिक सहयोग संकलन तथा कार्यक्रम व्यवस्थापनलाई लिएर नेतृत्व र असन्तुष्ट पक्षबीच तीव्र मतभेद देखिएको बताइएको छ।
साधारणसभासँगै पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने तयारी गरिएको थियो। तर कसलाई पुरस्कार दिने भन्ने विषयमा कार्यसमितिभित्रै विवाद उत्पन्न भएपछि वातावरण तनावपूर्ण बनेको स्रोतको दाबी छ।
केही सदस्यहरूले आफू निकट पत्रकारलाई पुरस्कार दिन दबाब सिर्जना गरेको आरोपसमेत लागेको छ। यही विषयलाई लिएर बैठकहरूमा चर्काचर्की भएको र अन्ततः अर्को निर्णय नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको बताइएको छ।
यता कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग तथा चन्दा संकलन गरिएको विषयले पनि विवाद थप चर्काएको छ। केही सञ्चारकर्मीले महासंघले सहयोग माग्ने शैलीप्रति आपत्ति जनाएका छन् भने नेतृत्व पक्षले आर्थिक अभावका कारण सहयोग अपरिहार्य भएको बताएको छ।
महासंघका अध्यक्ष रमेश सुवेदीले संस्था सञ्चालन र कार्यक्रम व्यवस्थापनका लागि सहयोग लिनु सामान्य प्रक्रिया भएको बताएका छन्।
उनले भने, “कुनै पनि संघ–संस्थाले कार्यक्रम गर्दा विभिन्न निकाय वा व्यक्तिबाट सहयोग लिन्छन्। महासंघका पदाधिकारीले मात्रै व्यक्तिगत खर्च गरेर सबै सम्भव हुँदैन।”
असन्तुष्ट पक्षले भने आर्थिक पारदर्शिता, पुरस्कार छनोट प्रक्रिया तथा निर्णय प्रणालीमाथि प्रश्न उठाएको छ। उनीहरूको आरोप अनुसार महासंघभित्र सीमित व्यक्तिहरूको प्रभाव बढ्दै गएको र संस्थागत निर्णयभन्दा गुटगत स्वार्थ हाबी हुन थालेको छ।
वरिष्ठ पत्रकारहरूले महासंघभित्रको विवाद सार्वजनिक रूपमा फैलिनु दुःखद भएको बताएका छन्। उनीहरूले पत्रकारहरूको साझा संस्था राजनीतिक वा व्यक्तिगत गुटबन्दीको अखडा बन्न नहुने बताएका छन्।
पछिल्लो घटनाक्रमले बाराको पत्रकारिता क्षेत्रमा नैतिकता, पारदर्शिता र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अहिले महासंघभित्र विवाद समाधानका लागि आन्तरिक छलफल चलिरहेको बताइए पनि साधारणसभा पुनः कहिले हुने भन्ने विषय अझै अन्योलमै रहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *