बारा

कोल्हबीमा परोपकार कृषि सहकारीद्वारा सञ्चालित वित्तीय साक्षरता तालिम सम्पन्न

बारा, कोल्हबी । श्री परोपकार कृषि सहकारी संस्था लिमिटेड, कोल्हबी–५ बाराको आयोजनामा सञ्चालित “वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम” आज एक समारोहका बीच सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेडको सहयोगमा यही ८ गतेदेखि सुरु भएको तालिम ११ गते सम्पन्न गरिएको हो।

तालिममा स्थानीय महिला, कृषक तथा सहकारीका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई बचत गर्ने बानीको विकास, ऋणको सही सदुपयोग, व्यवसाय सञ्चालन, आर्थिक योजना निर्माण, लगानी व्यवस्थापन तथा स्वरोजगारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

विशेषगरी माछा कृषक अनिल भण्डारी तथा जिउँदो माछा व्यवसायका केन्द्रीय प्रमुख जङ्ग बहादुर शाहको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने बताएका थिए। सहभागीहरूले तालिमबाट दैनिक जीवनमा उपयोगी वित्तीय सीप तथा ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा प्रशिक्षकहरूले सहजीकरण गरेका थिए भने समापन अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहकारीका प्रबन्धक अशोक कुमार सिंहले आगामी दिनमा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *