प्रदेश खबर बारा मधेस प्रदेश

योग्य नेतृत्व चयन नगरे मधेसको समृद्धि सम्भव छैन : सञ्चारकर्मी सिमोन न्यौपाने

योग्य नेतृत्व चयन नगरे मधेसको समृद्धि सम्भव छैन : सञ्चारकर्मी सिमोन न्यौपाने

बारा । सञ्चारकर्मी, अन्तर्राष्ट्रिय स्तरका लाइफ कोच तथा वैदेशिक रोजगार एवं श्रम विज्ञ सिमोन न्यौपानेले तराई–मधेस क्षेत्र नेपालको आर्थिक, कृषि तथा श्रमशक्तिको मुख्य आधार भएकाले स्थानीय सरकारमा योग्य, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

तराई–मधेसमा स्थानीय सरकार चयनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै न्यौपानेले मधेसलाई “नेपालको मुटु”को संज्ञा दिएका छन्। उनले भने, “मुटुले धड्किन छाड्यो भने शरीरले काम गर्न सक्दैन, त्यसैगरी मधेस कमजोर भयो भने देशको समग्र विकास प्रभावित हुन्छ।”

उनका अनुसार मधेसले कृषि उत्पादन, श्रमशक्ति, व्यापारिक सम्भावना तथा सहज भौगोलिक संरचनामार्फत नेपाललाई महत्वपूर्ण योगदान दिँदै आएको छ। साथै, अन्तर्राष्ट्रियस्तरका शैक्षिक, तालिम तथा औद्योगिक केन्द्र सञ्चालन गर्न सक्ने प्रशस्त सम्भावना यस क्षेत्रमा रहेको उनले उल्लेख गरेका छन्।

संघीय संरचना र स्थानीय सरकारको अभ्याससँगै भौतिक पूर्वाधार विकासमा केही सकारात्मक प्रगति भए पनि आर्थिक समृद्धि, उत्पादन वृद्धि, श्रम व्यवस्थापन तथा प्रभावकारी नीति निर्माण र कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।

स्थानीय तहमा राजनीतिक प्रभाव, समूहगत स्वार्थ तथा ठेक्कापट्टा केन्द्रित सोचका कारण विकासको गति कमजोर बनेको हुन सक्ने उल्लेख गर्दै उनले यस विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

न्यौपानेले स्थानीय सरकारका प्रतिनिधि चयन गर्दा केवल आश्वासन, लोकप्रिय नाराबाजी वा राजनीतिक छविका आधारमा निर्णय गर्न नहुने धारणा राखेका छन्। उनले अनुभव, युवा ऊर्जा, दूरदृष्टि, दृढ संकल्प, इमानदारी, कार्यक्षमता तथा नवीन सोच भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

“देश निर्माणको आधार आफ्नै गाउँ, नगर र समुदायबाट सुरु हुन्छ। त्यसैले अब स्थानीय तहप्रति जिम्मेवार र सचेत बन्ने समय आएको छ,” उनले बताएका छन्।

उनले बौद्धिक र सचेत समाजको परिचय दिँदै स्थानीय सरकारमा स्वतन्त्र सोच, ज्ञान, क्षमता र परिणाममुखी नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता औंल्याएका छन्। स्थानीय सरकारलाई केवल राजनीतिक प्रतिस्पर्धाको केन्द्र नभई जनताको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने उनको धारणा छ।

अन्त्यमा उनले विवेकपूर्ण निर्णय गर्दै सक्षम नेतृत्व चयन गर्न र समृद्ध गाउँ–नगर निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *