बारा मधेस प्रदेश

श्री परोपकार सहकारीद्वारा बेल्वा बजारमा तीन दिने FEBL तालिम सम्पन्न

कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका–८ बेल्वा बजारमा रहेको श्री परोपकार सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित तीन दिने वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम सम्पन्न भएको छ।

कृषि विकास बैंक लिमिटेडको सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको तेस्रो समूहको समापन कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। तालिममा स्थानीय महिला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

समापन कार्यक्रम संस्थाका अध्यक्ष ब्रम नारायण थारुको सभापतित्वमा सम्पन्न भएको थियो भने नेपाल जुउदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जङ्ग बहादुर साह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मिना देवी महतो तथा सदस्य गौरीशंकर सिंह अतिथिको रूपमा सहभागी भएका थिए।

कार्यक्रममा संस्थाका प्रबन्धक अशोक कुमार सिंहले तालिमले सहभागीहरूमा वित्तीय सचेतना, बचत गर्ने बानी, व्यवसाय सञ्चालन तथा आत्मनिर्भर बन्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यस्ता तालिमले ग्रामीण क्षेत्रका महिला तथा विपन्न समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तालिम अवधिभर सहभागीहरुलाई वित्तीय व्यवस्थापन, व्यवसायिक योजना, बचत तथा लगानीका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको समापनसँगै सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *