बारा रास्वपामा विस्फोट : विवाद चर्किएपछि जिल्ला अधिवेशन नै स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन अन्ततः स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार “अत्यन्त जरुरी सूचना” जारी गर्दै जेठ २६ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा बारा जिल्लामा सञ्चालन हुने भनिएको अधिवेशन “विभिन्न अपरिहार्य कारणवश” स्थगित गरिएको उल्लेख गरिएको छ । आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति र समयबारे पछि आधिकारिक जानकारी गराइने पनि जनाएको छ ।
सूचनामा अधिवेशनसँग सम्बन्धित बाँकी प्रक्रिया तथा आगामी कार्यतालिकाका विषयमा आयोगबाट थप निर्देशन जारी हुने उल्लेख गरिएको छ । आयोगले सम्पूर्ण जिल्ला संरचना, पार्टी पंक्ति तथा सरोकारवालालाई धैर्य गर्न र आधिकारिक निर्णयको प्रतीक्षा गर्न आग्रह गरेको छ ।
बारामा पछिल्लो केही दिनदेखि अधिवेशनलाई लिएर विवाद तीव्र बनेको थियो । विशेषगरी कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि नेता–कार्यकर्ताबीच असन्तुष्टि चर्किएको थियो ।
निर्वाचन सम्पन्न भएर विजयी उम्मेदवारको घोषणा तथा शपथग्रहणसमेत भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय गरिएको भन्दै स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले पार्टी नेतृत्वले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीलाई मान्यता नदिएको आरोप लगाएका छन् ।

यही विषयलाई लिएर बाराका नेता तथा कार्यकर्ताले आइतबार काठमाडौंस्थित वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए । प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत बिनाहस्ताक्षर सूचना निकालेर निर्वाचन रद्द गरिएको भन्दै त्यसको आधिकारिक आधार सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई तत्काल वैधानिकता दिनुपर्ने, पार्टीभित्र भइरहेको हस्तक्षेप बन्द गर्नुपर्ने तथा केन्द्रीय नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
रास्वपाले देशभर वडा, पालिका, जिल्ला हुँदै केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ । आगामी ७, ८ र ९ असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी पार्टीको छ । तर विभिन्न जिल्लामा देखिएको विवादले पार्टीभित्रको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ ।
मधेश प्रदेशका महोत्तरी, सर्लाही, धनुषा र पर्सालगायत जिल्लामा पनि अधिवेशनलाई लिएर विवाद देखिएको छ । कतै प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि छ भने कतै नेतृत्व चयनलाई लिएर दुई पक्षबीच झडपसमेत भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले पहिलोपटक संगठन निर्माणको ठूलो अभ्यास गरिरहेका बेला देखिएको यस्तो विवादले पार्टीको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्व समन्वय क्षमतामाथि चुनौती थपिएको संकेत गरेको छ ।











