महागढीमाई नगरपालिकाले ल्यायो ७२ करोड ८२ लाखको बजेट, गढीमाई क्षेत्र विकासमा विशेष जोड
बारा । महागढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। नगरपालिकाको १०औँ नगरसभा बाट उक्त बजेट पारित तथा सार्वजनिक गरिएको हो। नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले नगरसभाको उद्घाटन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम ल्याइएको बताएका थिए।

प्रस्तुत नीति तथा कार्यक्रममा विश्वप्रसिद्ध गढीमाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास लाई विशेष प्राथमिकतामा राखिएको थियो। गढीमाई क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण, क्षेत्रको सौन्दर्यीकरण, पर्यटकमैत्री वातावरण सिर्जना तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम समेटिएको थियो। नगरपालिकाले धार्मिक पर्यटनको विकासमार्फत स्थानीय आर्थिक गतिविधि बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको जनाएको थियो।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई पनि बजेटको मुख्य प्राथमिकतामा राखिएको थियो। शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न विद्यालय भवन निर्माण तथा मर्मत, शैक्षिक सामग्री व्यवस्थापन, प्रविधिमैत्री शिक्षण प्रणाली र शैक्षिक पूर्वाधार सुदृढीकरणका कार्यक्रम समावेश गरिएको थियो। स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा आवश्यक जनशक्ति व्यवस्थापनमा जोड दिइएको थियो।

कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउन किसान लक्षित कार्यक्रम, उन्नत बीउबिजन वितरण, सिंचाइ व्यवस्थापन, कृषि उत्पादन वृद्धि तथा कृषिमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने योजनाहरू पनि बजेटमा समेटिएका थिए। कृषि क्षेत्रको विकासमार्फत स्थानीय उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्य नगरपालिकाले राखेको थियो।
यस्तै नगरभित्रका सडक, नाला, खानेपानी, सरसफाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणका योजनालाई निरन्तरता दिइने उल्लेख गरिएको थियो। विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउँदै नगरवासीलाई आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउने नीति लिइएको थियो।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रस्तुत बजेट तथा नीति कार्यक्रमले नगरको आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई थप गति दिने तथा महागढीमाई नगरपालिकालाई समृद्ध र व्यवस्थित नगरका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।









