बारा

“हिजो सफाइको भाषण, आज बजारभरि फोहोर”

कोल्हवी उद्योग वाणिज्य संघको घोषणा कागजमै सीमित, व्यवस्थापनमाथि गम्भीर प्रश्न

✍️ सुरज बिक्रम, कोल्हवी
कोल्हवी नगर उद्योग वाणिज्य संघले बजार क्षेत्रको फोहोर व्यवस्थापन कडाइका साथ लागू गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै कोल्हवी बजार पुनः फोहोरले अस्तव्यस्त बनेको छ। संघले हिजो मात्रै सार्वजनिक सूचना जारी गर्दै बजारलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको थियो। तर आज बिहान बजारका विभिन्न स्थानमा जथाभावी फोहोर थुप्रिएको दृश्य देखिएपछि संघको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।

संघले सूचनामार्फत तोकिएको स्थानमा मात्रै फोहोर फाल्न, कुहिने र नकुहिने फोहोर छुट्याउन तथा नियम उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिएको थियो। तर व्यवहारमा भने बजारको अवस्था फेरिएको देखिएन। मुख्य सडक, बजार क्षेत्र र सार्वजनिक स्थानमै फोहोर थुप्रिएको पाइएपछि “सूचना मात्रै कि कार्यान्वयन पनि ?” भन्ने प्रश्न उठ्न थालेको हो।

स्थानीय व्यवसायी तथा सर्वसाधारणले केवल विज्ञप्ति र चेतावनीले मात्र समस्या समाधान नहुने भन्दै नियमित अनुगमन, प्रभावकारी संकलन र कडाइका साथ कार्यान्वयन आवश्यक रहेको बताएका छन्। “हिजो व्यवस्थापन गर्छौं भनियो, आज फेरि उही अवस्था देखियो,” एक स्थानीय व्यवसायीले आक्रोश व्यक्त गरे।

बजार सरसफाइको जिम्मेवारी लिएको उद्योग वाणिज्य संघले व्यवहारिक रूपमा परिणाम देखाउन नसकेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना सुरु भएको छ। स्थानीयहरूका अनुसार “सफा कोल्हवी, सुन्दर कोल्हवी” अभियान नारामा सीमित हुने कि व्यवहारमा लागू हुने भन्ने अबको मुख्य चुनौती बनेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *