गंजभवानीपुरमा अवैध मदिरा भट्टीमा प्रहरीको छापा: १० हजार लिटर कच्चा पदार्थ नष्ट
सुरज बिक्रम, कलैया (बारा) साउन २९! बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा सञ्चालन हुँदै आएका अवैध घरेलु मदिरा भट्टीहरूलाई प्रहरीले छापा मारी नष्ट गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नम्बर १० गंजभवानीपुर क्षेत्रमा सञ्चालित भट्टीहरूमा बिहीबार कारबाही चलाएको हो।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अवैध मदिरा उत्पादन स्थलमै पुगेर मदिरा बनाउन तयार पारिएको करिब १० हजार लिटर कच्चा पदार्थ (पास) नष्ट गरेको छ।

प्रहरीका अनुसार साउन २९ गते बिहान करिब ११:३० बजे प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवल किशोर साहको नेतृत्वमा १३ जना गरी कुल १६ जनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।
उक्त टोलीले मदिरा भट्टीहरू नियन्त्रणमा लिई कच्चा पदार्थ सोही स्थानमा पोखेर नष्ट गरेको हो। त्यसैगरी मदिरा उत्पादन तथा भण्डारणमा प्रयोग गरिएका सानो साइजका ११ वटा प्लास्टिकका ड्रम र एउटा टिनको ड्रम बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती भट्टीहरू महागढीमाई–३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालले सञ्चालन गर्दै आएको खुलेको छ।
घरेलु तथा अवैध मदिराका कारण समाजमा अपराध, घरेलु हिंसा र स्वास्थ्य समस्या बढ्दै गएकाले यसको नियन्त्रणका लागि जिल्लाभर विशेष अपरेसन चलाइएको प्रहरीले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न र अवैध धन्दा रोक्न प्रहरीले आगामी दिनमा पनि यस्ता अनुगमन र कारबाहीलाई अझ कडाइका साथ निरन्तरता दिने बताएको छ।











