किसानको विद्युत् समस्या लिएर सिंहदरबार पुगे सारजङ्ग थापा
सुरज बिक्रम, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका कोषाध्यक्ष सारजङ्ग थापाले कोल्हवी नगरपालिका–५ रामवन, बोधवन क्षेत्रमा देखिएको विद्युत् समस्या समाधानका लागि आवश्यक ट्रान्सफर्मर उपलब्ध गराउन माग गरेका छन्।
सिंहदरबारमा प्रतिनिधिसभा सदस्य प्रभा ढकालसँग भएको भेटघाटका क्रममा थापाले आफ्नो वडा तथा समग्र भूगोलको विकाससँगै स्थानीयवासीले भोग्दै आएका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
विशेषगरी कोल्हवी–५ माछापालनका लागि महत्वपूर्ण क्षेत्र रहेकाले यहाँ पर्याप्त र नियमित विद्युत् आपूर्ति अत्यन्त आवश्यक रहेको थापाले सांसद ढकाललाई बताएका छन्। विद्युत्को समस्या हुँदा माछा पोखरीमा पानी तान्ने मोटर सञ्चालन, एरेटर तथा अन्य आवश्यक उपकरण चलाउन समस्या हुने गरेको र त्यसको प्रत्यक्ष असर किसानको उत्पादन तथा आम्दानीमा पर्ने गरेको उनको भनाइ छ।
थापाले रामवन र बोधवन क्षेत्रका किसानले लामो समयदेखि विद्युत्को अनियमितता, कम भोल्टेज तथा ट्रान्सफर्मरको क्षमतासम्बन्धी समस्या भोग्दै आएको भन्दै तत्काल आवश्यक क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन्।
‘यो क्षेत्र माछापालनको पकेट क्षेत्र भएकाले किसानका लागि विद्युत् विलासिता होइन, उत्पादनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो,’ थापाले भने।
भेटका क्रममा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि तथा स्थानीय पूर्वाधारलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ। स्थानीय आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता सांसद ढकालसमक्ष राखिएको थापाले बताए।
सांसद प्रभा ढकाल रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत हुन्।
कोल्हवी–५ का किसानले लामो समयदेखि भोग्दै आएको विद्युत् समस्या समाधानका लागि ट्रान्सफर्मर उपलब्ध गराउने विषयमा अब सम्बन्धित निकायबाट हुने पहलप्रति स्थानीय किसानको चासो बढेको छ।











