कोल्हबीमा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न, २५७ महिलाले गराए स्वास्थ्य परीक्षण
सुरज विक्रम, बारा ।महिलाहरूमा बढ्दो पाठेघरमुख तथा स्तन क्यान्सर रोगलाई लक्षित गर्दै कोल्हबीमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) बारा जिल्ला शाखा र तामागढी हस्पिटल प्रा.लि.को आयोजनामा, कोल्हबी नगर उद्योग वाणिज्य संघ, कालिका सुनचाँदी पसल कोल्हबी तथा उद्यमशील युवा दुग्ध एवं कृषि सहकारी संस्था लि. कोल्हबीको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहेको थियो।

कोल्हबीस्थित तामागढी हस्पिटल प्रा.लि.को प्राङ्गणमा आयोजित शिविरको उद्घाटन कोल्हबी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीले गर्नुभएको थियो।
शिविरमा कोल्हबी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजहरण चौधरी, वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनालि, स्वास्थ्य शाखाका जनस्वास्थ्य प्रमुख करण चौधरी, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रञ्जन मिश्र, सशस्त्र प्रहरी बल कोल्हबीका प्रहरी सहायक निरीक्षक असिब चौधरी, सपही कलेज व्यवस्थापन समितिका प्रमुख डुण्डिराज उप्रेती, कोल्हबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाई, सदस्य सुमित्रा नेपाल, तामागढी हस्पिटलका सञ्चालक छोटेलाल चौधरी, अनुदान रोग निवारण संस्था केन्द्रिय पूर्व उपाध्यक्ष कमला जोशी, प्रदेश संयोजक उमेश यादव, बारा जिल्ला शाखा अध्यक्ष सन्जय गुप्ता, ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कोल्हबीकी समाजसेवी कलावती चौधरी तथा शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

बिहान ६ बजेदेखि सञ्चालन गरिएको शिविरमा २५८ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा १ जनामा पाठेघरको क्यान्सर पुष्टि भएको छ भने १५ जनालाई थप विस्तृत परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।
रिफर गरिएका बिरामीहरूले तामागढी हस्पिटल प्रा.लि.बाट सिफारिस पत्र लिएपछि भक्तपुर क्यान्सर अस्पतालमा खान, बस्न तथा एक जना कुरुवासहित सम्पूर्ण परीक्षण सेवा निःशुल्क रूपमा प्राप्त गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी चिकित्सकहरूले महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै प्रारम्भिक पहिचानले क्यान्सर उपचारलाई सहज बनाउने बताएका थिए।







