गाउँका दुर्घटना जोखिम क्षेत्रमा रिफ्लेक्टिभ स्टिकर अभियान सुरु, रातको जोखिम घटाउने प्रयास
सुरज बिक्रम, बारा, २३ भदौ २०८३ ।
गाउँघरका भित्री सडक तथा दुर्घटनाको उच्च जोखिम रहेका स्थानमा रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वास्थित मौवापैनी पुल आसपास मंगलबार ड्रम तथा बाँसका पिल्लरमा रिफ्लेक्टिभ स्टिकर टाँसेर अभियानको औपचारिक सुरुवात गरिएको हो।
नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले उपलब्ध गराएको रिफ्लेक्टिभ स्टिकर वडा अध्यक्ष चतुरबाबु वाग्लेको विशेष उपस्थितिमा टाँसिएको हो।

अभियानको सुरुवात कार्यक्रममा नेकपा एमाले बाराका सचिवालय सदस्य बसन्त खतिवडा, मौवादेवी युवा क्लब बडहर्वाका अध्यक्ष निर्मल कुमार यादव, सचिव जगदिप कोइराला, सामाजिक अगुवा भरत सुहाल, प्रहरी चौकी जैतापुरका निमित्त प्रमुख हवल्दार रामप्रित चौधरी तथा ट्राफिक प्रहरी पोष्ट पिलुवाका इन्चार्ज रामजनम राय लगायतको सहभागिता थियो।
ग्रामीण क्षेत्रमा सडकको अवस्था कमजोर हुनु, सडक सुरक्षासम्बन्धी पूर्वाधारको अभाव, ट्राफिक नियमको बेवास्ता तथा चालकको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढिरहेको सहभागीहरूले बताएका छन्। दुर्घटना ठूला राजमार्ग र सहरी क्षेत्रमा मात्र नभई गाउँका साँघुरा तथा भित्री सडकमा समेत हुने गरेका छन्।

विशेषगरी रातको समयमा सडक छेउमा रहेका ड्रम, बाँसका पिल्लर, पुलका संरचना तथा अन्य अवरोध नदेखिँदा दुर्घटनाको सम्भावना बढ्ने भएकाले रिफ्लेक्टिभ स्टिकरले सवारी चालकलाई टाढैबाट जोखिम क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पत्रकार महासंघ बाराका सचिव खतिवडाका अनुसार जेन्जी दिवसको अवसर पारेर समाज, स्थानीय तह र प्रहरीबीच सहकार्य गर्दै दुर्घटना न्यूनीकरणका लागि सकारात्मक पहल थालिएको हो। सामान्य देखिने यस्ता प्रयासले रातको समयमा हुने दुर्घटना कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।
अभियानअन्तर्गत वडा नं. १८ का बडहर्वा, उचिडी, मनहर्वा, लामीडाँडा, पैनिटोल लगायत दुर्घटनाको जोखिम रहेका स्थानमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिने भएको छ।

बाँकी जोखिमयुक्त स्थानमा पनि अभियानलाई निरन्तरता दिन मौवादेवी युवा क्लबलाई आवश्यक रिफ्लेक्टिभ स्टिकर उपलब्ध गराइएको छ। ट्राफिक प्रहरी पोष्ट पिलुवाका इन्चार्ज रामजनम रायले क्लबका अध्यक्ष निर्मल कुमार यादवलाई स्टिकर हस्तान्तरण गरेका हुन्।
स्थानीय स्तरमै उपलब्ध स्रोत, प्रहरीको प्राविधिक सहयोग र सामाजिक संस्थाको सक्रियतालाई जोडेर सञ्चालन गरिएको यो अभियानले ग्रामीण सडकमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
सडक दुर्घटना रोक्न ठूला योजना र महँगा पूर्वाधारसँगै स्थानीय तहमा गरिने यस्ता साना तर व्यावहारिक पहल पनि प्रभावकारी हुन सक्ने भन्दै अभियानलाई अन्य जोखिमयुक्त स्थानमा समेत विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।











