टाङिया बस्तीको समस्या समाधानतर्फ सांसदहरूको चासो: उचित व्यवस्थापनपछि मात्र कुनै कदम चालिने स्पष्ट आश्वासन
बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमाल र बारा क्षेत्र नं. ३ का सांसद माननीय अरविन्द शाहले टाङिया बस्तीमा देखिएको वन क्षेत्रसम्बन्धी विवाद र त्यसले सिर्जना गरेको अन्योलबारे स्थलगत रूपमा अवलोकन गर्दै स्थानीयवासीसँग विस्तृत छलफल गर्नुभएको छ।

डिभिजन वन कार्यालय (डिएफओ) बारा बाट हालै उठाइएको वन क्षेत्रसम्बन्धी विषयपछि टाङिया बस्तीमा बसोबास गर्ने नागरिकहरूमा भविष्यप्रति चिन्ता, त्रास र अन्योलता बढेको थियो। विशेषगरी जग्गाको वैधानिकता, सीमांकन र सम्भावित स्थानान्तरणका विषयमा फैलिएको अनिश्चितताले स्थानीयलाई मानसिक रूपमा प्रभावित पारेको थियो।
यसै परिस्थितिमा दुबै सांसदहरू बस्तीमै पुगेर जनताका समस्या, गुनासो र अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्नुभएको हो।
कार्यक्रममा बोल्दै गणेश धिमाल र अरविन्द शाह ले टाङिया बस्तीका बासिन्दालाई ढुक्क भएर बस्न आग्रह गर्दै राज्यले उचित व्यवस्थापन नगरी कुनै पनि नागरिकलाई विस्थापित नगर्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो।
उहाँहरूले हाल विभिन्न स्थानमा भइरहेको सुकुम्बासी बस्ती हटाउने कार्य र टाङिया बस्तीको अवस्था एउटै प्रकृतिको नभएको उल्लेख गर्दै, प्रत्येक बस्तीको ऐतिहासिक पृष्ठभूमि, बसोबासको अवस्था र मानवीय पक्षलाई आधार मानेर राज्यले छुट्टाछुट्टै मूल्याङ्कन गर्ने बताउनुभयो।
सांसदहरूले सरकार कुनै पनि निर्णयमा अघि बढ्नु अघि स्थानीयको अधिकार, बसोबासको सुरक्षा र दीर्घकालीन समाधानलाई प्राथमिकतामा राख्ने र त्यसैअनुसार मात्र कदम चालिने आश्वासन पनि दिनुभयो।

वन क्षेत्रसम्बन्धी विवादका कारण त्रसित बनेका टाङिया बस्तीका नागरिकले आफ्नै प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा आएर समस्या सुनेपछि केही आशा र राहत महसुस गरेको बताएका छन्। उनीहरूले अब सरकारबाट ठोस र न्यायोचित समाधान आउने अपेक्षा गरेका छन्।
स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएका जग्गा स्वामित्व, लालपुर्जा, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या पनि छलफलमा उठाइएको थियो। जनप्रतिनिधिहरूले यी सबै विषयलाई क्रमिक रूपमा समाधानतर्फ लैजाने प्रतिबद्धता जनाउनुभयो।







