बारा मधेस प्रदेश

थानेश्वर पहाडीको नेतृत्वमा कोल्हबी रास्वपा, सारजङ्ग थापा कोषाध्यक्षमा सर्वसम्मत चयन

कोल्हबी नगरपालिका । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोल्हबी नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नगर अधिवेशनबाट थानेश्वर पहाडीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो भने सारजङ्ग थापा कोषाध्यक्षमा चयन भएका छन्।

निर्वाचन अधिकृत राजकिशोर गुप्ताको संयोजकत्व तथा प्रदेश समिति सदस्य रोहित बास्तोलाको रोहबरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको जनाएको छ। अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले संगठन विस्तार, सुशासन र जनताका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवगठित नगर समितिको सभापतिमा थानेश्वर पहाडी सर्वसम्मत रूपमा चयन भएका छन्। पार्टीभित्र लामो समयदेखि सक्रिय पहाडीले अब कोल्हबीमा संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। त्यस्तै कोषाध्यक्षमा चयन भएका सारजङ्ग थापाले पार्टीको आर्थिक पारदर्शिता र संगठन सुदृढीकरणमा जिम्मेवार ढंगले काम गर्ने बताएका छन्।

नगर समितिको उपसभापतिमा जितन प्रसाद चौधरी, सचिवमा मनोज चौधरी तथा सहसचिवमा नन्दु चौधरी चयन भएका छन्। सदस्यहरूमा राजु चौधरी, मुकेश मुखिया बिन, धर्मेन्द्र ठाकुर ब्राह्मण, नागमणी चौधरी, सुनिता चौधरी, गीता दास, अप्सरा मल्ल र शिवजी खड्का रहेका छन्।

त्यसैगरी जिल्ला प्रतिनिधिमा जगदेव चौधरी, हरिओम साह रौनियार, हिरामणी खनाल तथा हरिओम मैनाली चयन भएका छन् भने भरत रुम्बा र भुवाली चौधरीलाई नगर समितिको सल्लाहकारमा मनोनित गरिएको छ।

प्रदेश प्रतिनिधिमा राजु घोरसाइने र अशोक महर्जन तथा केन्द्रीय प्रतिनिधिमा भेषबहादुर ढकाल र हेमराज बडाल चयन भएको निर्वाचन समितिले जनाएको छ।

कार्यक्रममा सहभागी गणेश धिमाल ले नवनिर्वाचित टोलीलाई बधाई दिँदै जनताको भरोसाअनुसार काम गर्न सुझाव दिएका थिए। उनले पार्टीलाई जनमुखी र जिम्मेवार ढंगले अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका थिए।

अधिवेशन सम्पन्न भएपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई फूलमाला तथा अबिर लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ।

रास्वपाले कोल्हबीमा नयाँ नेतृत्व चयनसँगै संगठन विस्तारलाई तीव्र बनाउने, युवाहरूको सहभागिता बढाउने तथा स्थानीय जनताका समस्या र आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *