प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हबी नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, ७१ करोड ६६ लाख १९ हजारको बजेट प्रस्तुत

बारा, कोल्हबी । कोल्हबी नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट सहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरसभाको अध्यक्षता उपप्रमुख लक्ष्मीकुमारी चौधरीले गरेकी थिइन्।

सभामा प्रस्तुत नीति तथा कार्यक्रममा “आधुनिक कृषि, पर्यटन र औद्योगिकीकरण : समृद्ध कोल्हबीको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै कृषि, पर्यटन, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले आगामी वर्ष कृषिलाई व्यवसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। सामूहिक खेती, कृषि यान्त्रीकरण, सिँचाइ विस्तार, पशुपालन तथा मत्स्यपालन प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। कृषि संकलन केन्द्र, चिस्यान केन्द्र र कृषि सडक निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइएको छ। नगरभित्र रहेका सम्भावित पर्यटकीय स्थलहरूको विकास गरी कोल्हबीलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

औद्योगिक क्षेत्रतर्फ साना तथा घरेलु उद्योगको प्रवर्द्धन, उद्यमशीलता विकास, युवालाई सीपमूलक तथा स्वरोजगारमूलक तालिम प्रदान गर्ने कार्यक्रम समेटिएको छ। निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउने र रोजगारीका अवसर सिर्जना गर्ने नीति अवलम्बन गरिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यालय पूर्वाधार विकास तथा शिक्षक क्षमता अभिवृद्धिलाई जोड दिइएको छ। स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, स्वास्थ्य संस्थाको स्तरोन्नति र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

त्यसैगरी सडक, नाला, खानेपानी, विद्युत्, सिंचाइ लगायतका भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने र आवश्यकता तथा प्राथमिकताका आधारमा नयाँ योजनाहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। युवा तथा खेलकुद विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन र डिजिटल सुशासनलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ।

नगरसभामा प्रस्तुत ७१ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट मार्फत नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जनामा जोड दिइएको नगरपालिकाले जनाएको छ।

नगरसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी आर्थिक वर्षका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ। कोल्हवी नगरपालिकाले समृद्ध, व्यवस्थित र विकासमुखी नगर निर्माण गर्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम ल्याएको नगरसभामा जानकारी गराइएको थियो।

१६ औं नगरसभाले कोल्हबी नगर प्रमुख राम प्रसाद चौधरिका पुजनिय पिता नन्देस्वर चौधरिको निधनमा गहिरो समबेदना प्रकट गर्दै नगर सभाको नीति तथा कार्यक्रम माथी असार १७ गते बैठक बस्ने गरि सम्पन्न गरेको छ।कार्यक्रमको सन्चालन शिव पौडेलको रहेको थियो।

नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दै नगरसभाले आगामी आर्थिक वर्षका विकास योजनाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *