निजगढमा CCTV र सडकबत्ती व्यवस्थापन गर्न नगर RAT संयोजकको पहल
निजगढ, बारा । चाडपर्व नजिकिँदै गर्दा निजगढ नगर क्षेत्रमा शान्ति–सुरक्षा तथा नागरिकको सुरक्षित आवतजावतलाई थप प्रभावकारी बनाउन CCTV क्यामेरा तथा सडकबत्ती व्यवस्थापनको माग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर RAT संयोजक बिकास नेपालको पहलमा इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी नगर क्षेत्रका आवश्यक CCTV स्थानहरूको पहिचान गरिएको छ। पहिचान गरिएका स्थानमा CCTV जडान तथा सुरक्षा निगरानी प्रभावकारी बनाउन आवश्यक पहलका लागि नगरपालिकामा पत्रसमेत पठाइसकिएको जनाइएको छ।
नेपालका अनुसार निजगढ क्षेत्रमा जडान गरिएका CCTV क्यामेरामध्ये हाल करिब तीन वटा मात्र सञ्चालनमा रहेको र अन्य क्यामेरा बन्द अवस्थामा रहेको अवस्था छ। चाडपर्वका समयमा बजार तथा सार्वजनिक स्थानमा नागरिकको चहलपहल बढ्ने भएकाले सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन बन्द रहेका CCTV तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन आवश्यक रहेको उनले बताएका छन्।

त्यसैगरी, नगरका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न तथा बिग्रिएका सडकबत्ती तत्काल मर्मत गरी रातको समयमा नागरिकलाई सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण निर्माण गर्नसमेत नगर प्रमुखसमक्ष माग गरिएको छ।
नगर RAT संयोजक नेपालका अनुसार नगर प्रमुखले CCTV तथा सडकबत्ती व्यवस्थापनसम्बन्धी मागमा आवश्यक पहल गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको छ।











