बारा

निजगढमा खानेपानी संस्थाको साधारण सभा सम्पन्न, विकास र पारदर्शितामा जोड

सुरज विक्रम , बारा । बारा–खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढको १०औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। निजगढ–८ स्थित शुभकार्य बैंक्युइट हलमा आयोजित कार्यक्रमलाई मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुश्वाहाले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो।

सभामा संस्थाका अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्षभर गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य सुनमाया लोप्चनले दिनुभएको थियो भने सञ्चालन सचिव यतिराज सापकोटाले गर्नुभएको थियो।

बन्द सत्रमा विद्युत महशुल भुक्तानी, लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका आय–व्यय अनुमानलगायत महत्वपूर्ण प्रस्तावहरू छलफल गरी पारित गरिएको छ। कोषाध्यक्ष गीता भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनसँगै २०८१/०८२ र २०८२/०८३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। त्यस्तै लेखा संयोजक रोशनकुमार तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री कुश्वाहासहित मधेश प्रदेश सांसद मिना लामा, निजगढ नगरपालिकाका प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष सुरथ पुरी, पूर्व उपप्रमुख लिलादेवी लामिछाने र संस्थापक अध्यक्ष अम्बिका चौलागाईंले शुभकामना व्यक्त गर्दै खानेपानी सेवा विस्तार र व्यवस्थापनमा संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो।

त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि संस्थाको कार्यप्रगतिलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै आ–आफ्ना धारणा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा जनमत पार्टीका प्रतिनिधिहरूले खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएको सुधारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर, शैक्षिक संस्था प्रमुख, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै निजगढ वृहत खानेपानी आयोजनासँग सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

सभाले संस्थागत पारदर्शिता, सेवा विस्तार र दीगो व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *