प्रदेश खबर बारा मधेस प्रदेश

घाँस नै नपुरिने गरी ग्रावेल !

कोल्हबी–३ को जुगवा–प्रसौना सडक योजनामाथि स्थानीयको प्रश्न

सुरज बिक्रम, बारा ।
कोल्हबी नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको जुगवा–प्रसौना सडक स्तरोन्नति योजना अहिले विवादमा तानिएको छ। प्रदेश सरकारको बजेटबाट सञ्चालित उक्त सडकमा न्यून गुणस्तरको काम भएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्।

स्थानीयका अनुसार सडकमा हालिएको ग्रावेल अत्यन्तै कम भएकाले सडक सतह पूर्ण रूपमा ढाकिन सकेको छैन। कतिपय स्थानमा सडकको बीचभागमै घाँस देखिनुले निर्माण कार्य कति कमजोर ढंगले गरिएको थियो भन्ने प्रष्ट देखिएको उनीहरूको भनाइ छ।

“ग्रावेल हालिएको सडकभन्दा पुरानै बाटो राम्रो देखिन्छ,” एक स्थानीयले आक्रोश पोख्दै भने, “जनताको करबाट आएको बजेट विकासमा होइन, कागजमै सकिएको जस्तो अनुभूति भएको छ।”

स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको सामग्री, मोटाइ तथा चौडाइसमेत तोकिएको मापदण्डअनुसार नभएको आशंका व्यक्त गरेका छन्। उनीहरूले योजनाको प्राविधिक परीक्षण गरी वास्तविक विवरण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो योजनासँगै वडा नं. ३ का वडा अध्यक्ष किसुन दयाल चौधरीमाथिसमेत प्रश्न उठ्न थालेको छ। उनी नगरस्तरीय अनुगमन समितिमा समेत आबद्ध रहेकाले अनुगमन गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिकै वडामा यस्तो विवादास्पद काम हुनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ।

स्थानीयले योजनाको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न तथा कमजोरी पुष्टि भए दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार विकास योजनामा पारदर्शिता नहुँदा जनविश्वास कमजोर बन्दै गएको छ।

यस विषयमा वडा अध्यक्ष किसुन दयाल चौधरीसँग प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन। उनको भनाइ प्राप्त भएपछि समाचार अद्यावधिक गरिने जनाइएको छ।

पछिल्लो समय स्थानीय तहका विकास योजनामा गुणस्तर र पारदर्शितामाथि लगातार प्रश्न उठिरहेका बेला कोल्हबी–३ को यो सडक योजना पनि जनचासोको विषय बनेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *