बारा मधेस प्रदेश

परोपकार सहकारीद्वारा बेल्वा, सपही र टाङिया बस्तीमा दूध संकलन शाखा विस्तार, किसानको हितमा बजार व्यवस्थापन र समयमै भुक्तानीको प्रतिबद्धता

सुरज बिक्रम, बारा, साउन ७ । दुग्ध उत्पादन गर्ने किसानलाई सहज बजार, समयमै भुक्तानी तथा पशुपालनसँग सम्बन्धित आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यका साथ श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडले बाराको बेल्वा बजार, सपही (वडा नं. ४) र टाङिया बस्तीमा दूध संकलन शाखा विस्तार गरेको छ। सहकारीले किसानले उत्पादन गरेको दूधलाई सहज रूपमा बजारसम्म पुर्‍याउने, पशु दाना तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउने र दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ।
यसै अभियानअन्तर्गत मिति २०८३ साउन ७ गते निजगढ नगरपालिका–८ स्थित जन एकता आधुनिक दुग्ध डेरी उद्योगसँग सहकार्य गर्दै दूधको बजारीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नयाँ शाखा विस्तारसँगै स्थानीय समिति गठन, शाखा व्यवस्थापन तथा किसानसँग प्रत्यक्ष छलफलसमेत गरिएको थियो।
कार्यक्रममा जन एकता आधुनिक दुग्ध डेरी उद्योगका कार्यकारी निर्देशक अनिश न्यौपाने तथा उक्त डेरी उद्योगका अध्यक्षको समेत विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले किसानको उत्पादनको उचित व्यवस्थापन, गुणस्तरीय दूध संकलन तथा दीर्घकालीन बजार सुनिश्चित गर्न सहकारी र डेरी उद्योगबीचको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक अशोक कुमार सिंहले सहकारीको मूल उद्देश्य किसानको आर्थिक अवस्था सुदृढ बनाउनु रहेको बताए। उनले किसानले उत्पादन गरेको दूधले सहज बजार पाउने, समयमै भुक्तानी प्राप्त गर्ने तथा आवश्यक पशुपालन सामग्री सहजरूपमा उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
उनले सहकारीले किसानको आवश्यकतालाई केन्द्रमा राखेर सेवा विस्तार गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप गाउँ तथा बस्तीमा दूध संकलन केन्द्र स्थापना गर्ने योजना रहेको बताए। किसानलाई उत्पादनदेखि बजारीकरणसम्म कुनै समस्या नहोस् भन्ने उद्देश्यले सहकारी निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
संस्थाका अध्यक्ष ब्रह्मा नारायण चौधरीले दुग्ध व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन गाउँस्तरमै दूध संकलन केन्द्र विस्तार गरिएको बताए। किसानले उत्पादन गरेको दूध बिक्रीका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय स्तरमै सेवा उपलब्ध गराउने लक्ष्यअनुसार शाखा विस्तार गरिएको उनले बताए।
त्यस्तै संस्थाका सचिव तथा संस्थापक डेरी संयोजक बलराम अधिकारीले किसानको श्रमको उचित सम्मान हुनुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै पाउनुपर्ने बताए। “किसान मारिने अवस्था आउनु हुँदैन, किसानको हित नै हाम्रो पहिलो प्राथमिकता हो,” भन्दै उनले सहकारी सधैं किसानको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।
डेरी संयोजक अजय कुमार शाहले किसान नै दुग्ध उत्पादन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको विश्वास र मेहनतकै कारण सहकारीले सेवा विस्तार गर्न सफल भएको बताए। उनले किसानलाई प्राथमिकतामा राखेर काम गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने तथा उत्पादनको सुनिश्चित बजार उपलब्ध गराउने कार्यलाई अझ प्रभावकारी बनाइने बताए।
कार्यक्रममा सहभागी किसानहरूले दूध संकलन, समयमै भुक्तानी, पशु दाना, सेवा विस्तार तथा अन्य व्यवस्थापनसम्बन्धी आफ्ना गुनासा र सुझाव राखेका थिए। किसानहरूले राखेका सुझावलाई सहकारीले सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सुधारसहित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
यस अवसरमा सपही शाखाको व्यवस्थापनको जिम्मेवारी कृष्ण देवकोटालाई प्रदान गरिएको सहकारीले जनाएको छ। बेल्वा, सपही र टाङिया बस्तीमा सञ्चालनमा आएका नयाँ शाखामार्फत स्थानीय किसानले आफ्नो दूध सहज रूपमा बिक्री गर्न पाउने, समयमै भुक्तानी प्राप्त गर्ने तथा आवश्यक कृषि तथा पशुपालनसम्बन्धी सामग्री एकै स्थानबाट प्राप्त गर्ने विश्वास गरिएको छ।
सहकारीका पदाधिकारीहरूले किसानको उत्पादनलाई उचित बजारसँग जोड्दै दुग्ध क्षेत्रलाई थप व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। सहकारी र जन एकता आधुनिक दुग्ध डेरी उद्योगबीचको सहकार्यले बारा जिल्लाका दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। किसानको उत्पादनको मूल्य सुरक्षित गर्ने, समयमै भुक्तानी सुनिश्चित गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने दिशामा यो पहल महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *