प्रदेश खबर बारा मधेस प्रदेश

भ्रामक समाचारमार्फत चरित्रहत्या गरेको आरोप : बिद्या मिडियाविरुद्ध कारबाहीको माग गर्दै मिडिया काउन्सिलमा मिलन राष्ट्रिय दैनिकको निवेदन

सुरज बिक्रम, कलैया, साउन ७ — बाराबाट प्रकाशित मिलन राष्ट्रिय दैनिकले आफ्नो प्रकाशित समाचारलाई आधारहीन भन्दै खण्डनात्मक सामग्री प्रकाशित गरेको आरोप लगाउँदै बिद्या मिडिया प्रालिविरुद्ध कारबाहीको माग गर्दै मिडिया काउन्सिल मधेश प्रदेशमा औपचारिक निवेदन दर्ता गराएको छ।
दैनिकका प्रकाशक बजमोहन कुशवाहाले मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्षलाई सम्बोधन गर्दै दिएको निवेदनमा बिद्या मिडियाका सञ्चालक अजित कुमारले आफ्नो अनलाइन पोर्टल janvionline.com मार्फत प्रकाशित समाचारले पत्रकारिताको न्यूनतम आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
निवेदनअनुसार मिलन राष्ट्रिय दैनिकले गत साउन ३ गते “दक्षिणी सिमानाका बसतपुर र भिट्टकेया भएर अवैध मालसामान तस्करी” शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारलाई कुनै आधिकारिक प्रमाण वा सत्यतथ्यको परीक्षण नगरी “मिलन राष्ट्रिय दैनिकको बार्गेनिङ धन्दा : आर्थिक असुली नभएपछि प्रहरीको चरित्र हत्या गर्दै भ्रामक समाचार” शीर्षकमा समाचार प्रकाशित गरी पत्रिकाको विश्वसनीयता र प्रतिष्ठामाथि गम्भीर आघात पुर्‍याउने प्रयास गरिएको निवेदनमा उल्लेख गरिएको छ।
प्रकाशक कुशवाहाले आफ्नो समाचार पर्याप्त प्रमाण, तथ्य र सूचनाका आधारमा तयार गरिएको दाबी गर्दै त्यसको सत्यता परीक्षण नगरी अर्को सञ्चारमाध्यमले सार्वजनिक रूपमा खण्डन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग भएको बताएका छन्। कुनै समाचारप्रति असहमति भए कानुनी वा संस्थागत प्रक्रियाबाट जाने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै माध्यमबाट आधारहीन आरोप लगाएर प्रतिष्ठामाथि प्रहार गर्नु गैरजिम्मेवार पत्रकारिता भएको उनको भनाइ छ।
निवेदनमा प्रेस तथा मिडिया काउन्सिलले विगतदेखि नै सञ्चारमाध्यमलाई सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार मात्र प्रकाशन गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै, त्यसको विपरीत जाने गरी प्रमाणबिनै अर्को सञ्चारमाध्यममाथि गम्भीर आरोप लगाइएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउने र समग्र सञ्चार क्षेत्रकै विश्वसनीयतामा नकारात्मक असर पार्ने दाबी गरिएको छ।
प्रकाशक कुशवाहाले बिद्या मिडियाले प्रकाशित सामग्रीका कारण मिलन राष्ट्रिय दैनिकको सार्वजनिक छवि धुमिल भएको, व्यावसायिक प्रतिष्ठामा क्षति पुगेको तथा आर्थिक असर समेत परेको उल्लेख गरेका छन्। साथै, निराधार आरोप र चरित्रहत्या गर्ने शैलीमा समाचार प्रकाशन गरिएको भन्दै सम्बन्धित सञ्चारमाध्यमसँग स्पष्टीकरण मागी प्रचलित कानुन र पत्रकारिताको आचारसंहिताअनुसार आवश्यक कारबाही गर्न मिडिया काउन्सिल मधेश प्रदेशसँग माग गरेका छन्।
निवेदनमा पत्रकारिताको नाममा व्यक्तिगत वा संस्थागत प्रतिष्ठामाथि आधारहीन आरोप लगाउने प्रवृत्तिलाई समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। तथ्य र प्रमाणमा आधारित पत्रकारितालाई प्रोत्साहन गर्दै भ्रामक, अपुष्ट तथा चरित्रहत्या गर्ने सामग्री प्रकाशन गर्ने सञ्चारमाध्यममाथि नियामक निकायले निष्पक्ष छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने माग पनि गरिएको छ।
यस विषयमा बिद्या मिडिया प्रालि वा उक्त समाचारका लेखकको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। मिडिया काउन्सिल मधेश प्रदेशले प्राप्त निवेदनमाथि आवश्यक अध्ययन तथा प्रक्रियाअनुसार अघि बढाउने अपेक्षा गरिएको छ। पत्रकारिताको विश्वसनीयता, जिम्मेवारी र आचारसंहिताको पालनसम्बन्धी यो विवादले अब मिडिया काउन्सिलको निर्णयतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *