ब्लोदान बाराको प्रथम अधिवेशन सम्पन्न, रामकुमार उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
कोल्हवी, बारा। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) बारा जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन आइतबार कोल्हवीस्थित रोजउड होटलमा सम्पन्न भएको छ। अधिवेशनले रक्तदान अभियानलाई जिल्लाभर थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनको उद्घाटन कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक कार्यको संज्ञा दिँदै रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीय तह, सामाजिक संस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका सभापति तथा ब्लोदान बारा शाखाका अध्यक्ष रामकुमार उप्रेतीले रक्त अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले विभिन्न अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले युवापुस्तालाई नियमित रक्तदान अभियानमा जोडिन आग्रह गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अधिवेशनमा वक्ताहरूले रक्तदानलाई ‘जीवनदान’को संज्ञा दिँदै समाजका सबै वर्ग, समुदाय तथा युवाहरूलाई यस अभियानमा सहभागी गराउन आवश्यक रहेको बताए। उनीहरूले रक्त अभावको समस्या न्यूनीकरण गर्न ब्लोदानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा इलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख पल्लबी कर्ण, नगर उद्योग वाणिज्य संघ कोल्हवीका अध्यक्ष रामप्रसाद प्रसाईं, इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख बुद्धिमान चोङवाङ, सशस्त्र प्रहरी बलका प्रतिनिधि, ब्लोदानका केन्द्रीय महासचिव मचाकाजी महर्जन, केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम खत्री, फ्रेन्ड अफ आरएच नेगेटिभ ब्लड ग्रुपका केन्द्रीय अध्यक्ष नवराज चापागाईं तथा केन्द्रीय उपाध्यक्ष अनिल अर्याल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी अनिल ठाकुर, ललित चौधरी, रोहित सुवेदी, बिसुनदयाल चौधरी, पूर्व वडा अध्यक्ष वीरेन्द्र प्रसाद चौधरी, बोधराज सुवेदी लगायत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रसिक सुवेदीले गर्नुभएको थियो।
अधिवेशनअन्तर्गत सम्पन्न बन्दसत्रले रामकुमार उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा दीपेन्द्र सुवेदी, सचिवमा सन्तोष नेपाल, कोषाध्यक्षमा श्रीराम साह, सह–सचिवमा अशेष ढुंगाना तथा सह–कोषाध्यक्षमा रामु खनाल चयन भएका छन्।
यस्तै सदस्यहरूमा प्रभुलाल कुशवाह, कालिका भण्डारी, राजाबाबु गुप्ता, रुपेन्द्र कुमार, कमलेश कुमार कुशवाह, उज्ज्वल यादव, विवेक चौधरी, रामहरि खरेल तथा पार्वती मैनाली उप्रेती चयन भएका छन्।
अधिवेशनले आगामी दिनमा जिल्लाभर रक्तदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने, नियमित रक्तदाता सञ्जाल निर्माण गर्ने तथा रक्त अभाव न्यूनीकरणका लागि समन्वयात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
साथै संस्थाको सल्लाहकार समितिमा इन्दिरा देवकोटा उप्रेती र पवित्रा तिमल्सिनालाई चयन गरिएको छ भने पछि बैठकमार्फत थप तीन सदस्य मनोनयन गरी पाँच सदस्यीय सल्लाहकार समिति पूर्णता दिने निर्णय समेत गरिएको छ।








