रास्वपा महाधिवेशनअघि नयाँ अनुहारको सक्रियता, पूर्व एमाले र समाजवादी नेताहरू पनि सहभागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि सुरु हुने प्रथम महाधिवेशनलाई लक्षित गर्दै सहभागी तथा उम्मेदवार बन्ने आकांक्षा राख्ने व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थितिलाई सार्वजनिक गर्न थालेका छन्। विशेषगरी विगतमा विभिन्न राजनीतिक दलमा सक्रिय रहेका र पछिल्लो समय रास्वपातर्फ आकर्षित भएका व्यक्तिहरूले महाधिवेशनमा सहभागी हुन लागेको जानकारीसहित तस्बिरहरू सार्वजनिक गरिरहेका छन्।
यसक्रममा डा. द्वारिका उप्रेती र डा. सीता ढुंगाना चर्चामा देखिएका प्रतिनिधि पात्रका रूपमा उभिएका छन्।
पूर्व वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख समेत रहेका डा. उप्रेती हालै अध्यादेशमार्फत पदमुक्त भएका थिए। उनी विगतमा नेकपा (एमाले) मा सक्रिय थिए भने पार्टी विभाजनपछि केही समय माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आबद्ध भएका थिए। एमाले बारा–काठमाडौं सम्पर्क मञ्चका आजीवन सदस्य तथा सल्लाहकारसमेत रहेका उप्रेती विभिन्न समयमा एमाले नेतृत्वसँग निकट रहेको तस्वीर सार्वजनिक हुँदै आएका थिए।
यस्तै, धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाले पनि रास्वपा महाधिवेशनमा सहभागी हुन लागेको जनाउँदै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी छन्। उनी पनि पूर्व एमाले नेतृ हुन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा सक्रिय रहेकी ढुंगाना पछिल्लो राजनीतिक समायोजनका क्रममा नेकपा (माओवादी केन्द्र) सँग एकीकरण भई बनेको संरचनामा केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहेकी थिइन्।
रास्वपाको प्रथम महाधिवेशन नजिकिँदै जाँदा विभिन्न दलबाट आएका तथा नयाँ राजनीतिक विकल्पको खोजीमा रहेका व्यक्तिहरूको सक्रियता बढ्दै गएको देखिएको छ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयनसँगै संगठनात्मक दिशा तय गर्ने भएकाले विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।








