महागढीमाई–२ का वडा अध्यक्ष बिश्वनाथ कुश्वाहामाथि रास्वपा अधिवेशन प्रभावित पार्न खोजेको आरोप
सुरज विक्रम ,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको आसन्न जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्लाको राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच नेकपा एमालेबाट निर्वाचित महागढीमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुश्वाहा नै रातिको समयमा रास्वपाको सदस्यता वितरण तथा संगठन विस्तारमा सक्रिय रहेको भन्दै विभिन्न राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ ।
सार्वजनिक भएको तस्वीर तथा स्थानीय स्रोतबाट प्राप्त जानकारीअनुसार राति ११:५२ बजेसम्म समेत सदस्यता काट्ने तथा नयाँ सदस्य बनाउने कार्य भइरहेको देखिएको छ । रातिको समयमा भइरहेको उक्त गतिविधिलाई लिएर रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा युवाहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यसलाई रास्वपा बाराको जिल्ला अधिवेशन प्रभावित पार्ने योजनाबद्ध प्रयासको रूपमा व्याख्या गरेका छन् ।
विशेषगरी पछिल्लो समय बारा जिल्लामा रास्वपाप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला अन्य दलका जनप्रतिनिधि नै प्रत्यक्ष रूपमा सदस्यता राजनीतिमा सक्रिय भएको दृश्य सार्वजनिक भएपछि राजनीतिक वृत्त थप तातेको हो । स्थानीय स्तरमा “किन राति अबेरसम्म सदस्यता वितरण गर्न आवश्यक पर्यो ?”, “यसको वास्तविक उद्देश्य के हो ?” भन्ने प्रश्नहरू व्यापक रूपमा उठिरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा समेत उक्त तस्वीर भाइरल बन्दै गएको छ । धेरै युवाहरूले “Gen-Z आन्दोलन”, “नयाँ राजनीतिक संस्कार”, “वैकल्पिक राजनीतिक शक्ति” तथा “पुराना दलविरुद्धको परिवर्तनको अभियान” को नारासहित उदाएको रास्वपामाथि फेरि पुरानै शैलीको शक्ति प्रयोग हुन थालेको टिप्पणी गरेका छन् ।
कतिपयले प्रत्यक्ष रूपमा प्रश्न उठाउँदै “के यही उद्देश्यका लागि युवा आन्दोलन भएको हो ?”, “रास्वपाको संगठनलाई कमजोर बनाउन खोजिएको हो कि ?” भन्ने आशंका व्यक्त गरेका छन् । स्थानीय युवाहरूको भनाइ अनुसार लोकतान्त्रिक प्रतिस्पर्धामा राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भए पनि रातिको समयमा जनप्रतिनिधिको सक्रियताले शंका पैदा गरेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार जिल्ला अधिवेशन नजिकिँदै जाँदा सदस्यता राजनीति, संगठन विस्तार, शक्ति सन्तुलन तथा प्रभाव कायम राख्ने प्रयास तीव्र बन्नु स्वाभाविक भए पनि निर्वाचित जनप्रतिनिधिको भूमिकालाई लिएर नैतिक प्रश्न उठ्नु सामान्य विषय होइन । उनीहरूका अनुसार यस्ता गतिविधिले स्थानीय राजनीतिमा अविश्वास र विवाद झन् बढाउन सक्छ ।
यता स्थानीय स्तरमा एमाले निकट केही व्यक्तिहरूले भने यसलाई सामान्य राजनीतिक गतिविधि भएको दाबी गरेका छन् । राजनीतिक दलले आफ्नो संगठन विस्तार गर्नु स्वाभाविक प्रक्रिया भएको उनीहरूको तर्क छ । तर रास्वपा समर्थकहरूले भने अधिवेशनको मुखमा गरिएको यस्तो गतिविधि संयोग मात्र नभई योजनाबद्ध रणनीति भएको आरोप लगाइरहेका छन् ।
रास्वपा बाराको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सदस्यता वितरण, संगठन विस्तार, आन्तरिक शक्ति संघर्ष तथा बाह्य राजनीतिक प्रभावको विषय अब थप पेचिलो बन्दै जाने संकेत देखिएको छ । यस घटनाले बारा जिल्लाको राजनीति आगामी केही दिन अझ तात्ने अनुमान गरिएको छ । यद्यपि आरोपित पक्षबाट यस विषयमा हालसम्म औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।






