बारा मधेस प्रदेश

मिलन राष्ट्रिय दैनिक आठौँ वर्षमा प्रवेश, गढीमाईमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बारा, साउन ११ — मिलन राष्ट्रिय दैनिकले आफ्नो प्रकाशनको आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। पत्रकारिता क्षेत्रप्रति प्रतिबद्धता, सत्य र निष्पक्ष समाचार सम्प्रेषणको संकल्प तथा आगामी यात्राप्रति विश्वास व्यक्त गर्दै सम्पन्न कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले केक काटेर पत्रिकाको सफल यात्राको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले लोकतान्त्रिक शासन प्रणालीमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। समाजमा सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न स्वतन्त्र तथा जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। पत्रकारिताले जनताको आवाजलाई सशक्त रूपमा उठाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो।

नगर प्रमुख यादवले विश्वप्रसिद्ध गढीमाई शक्तिपीठको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सञ्चार क्षेत्रले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। गढीमाई क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई सही ढंगले उजागर गर्न स्थानीय सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो। साथै, स्थानीय घटनाको यथार्थ अवस्था नबुझी बाहिरी जिल्लाबाट एकपक्षीय समाचार सम्प्रेषण हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै घटनाको सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

मिलन राष्ट्रिय दैनिकका प्रकाशक तथा कार्यक्रमका अध्यक्ष बृजमोहन कुशवाहाले पत्रिकाले विगत सात वर्षदेखि जनताको आवाजलाई प्राथमिकतामा राख्दै सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिँदै आएको बताउनुभयो। आगामी दिनमा पनि समाचारको विश्वसनीयता, व्यावसायिकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर प्रकाशनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति उहाँले आभार व्यक्त गर्दै सबैको साथ र विश्वासका कारण पत्रिका आठौँ वर्षमा प्रवेश गर्न सफल भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी, गढीमाई मन्दिरका मूल पुजारी शिव बाबा, स्थानीय जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले सत्य र निष्पक्ष पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनचासोका विषयलाई प्राथमिकताका साथ उठाइरहनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन मिलन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नरेश गुप्ताले गर्नुभएको थियो। वार्षिकोत्सवका अवसरमा सहभागीहरूले पत्रिकाको आगामी यात्रा अझ सफल, प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गरेका थिए। उनीहरूले मिलन राष्ट्रिय दैनिकले समाजका वास्तविक मुद्दा उजागर गर्दै जनहितमा आधारित पत्रकारितालाई निरन्तरता दिई लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहने अपेक्षा व्यक्त गरेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *