रास्वपा बाराको जिल्ला अधिवेशन तत्काल गराउन केन्द्रसमक्ष दबाब, नेतृत्वविहीन हुँदा संगठन प्रभावित
कलैया (बारा)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठनले विधानअनुसार सदस्यहरूको सहभागिता सुनिश्चित गर्दै यथाशीघ्र जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वसमक्ष माग गरेको छ। लामो समयदेखि जिल्ला नेतृत्वको रिक्तता कायम रहँदा संगठनात्मक गतिविधि र आगामी निर्वाचनको तयारी प्रभावित भएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले अधिवेशनको नयाँ मिति तत्काल तोक्न आग्रह गरेका छन्।
जिल्ला अधिवेशन आयोजना गर्न पार्टी सभापतिलाई सम्बोधन गरी २०८३ असोज १२ गते लेखिएको ज्ञापनपत्रमा बाराको संगठनात्मक अवस्था, अधिवेशनका लागि भएका प्रयास र विद्यमान समस्याबारे ध्यानाकर्षण गराइएको छ।
१५ स्थानीय तहमा संगठनात्मक संरचना तयार
ज्ञापनपत्रअनुसार मधेस प्रदेश समितिको सिफारिसमा केन्द्रीय सचिवालयले बारा जिल्ला समिति विघटन गरी जिल्ला अधिवेशनको तयारी अघि बढाएको थियो। त्यसक्रममा जिल्लाका १६ स्थानीय तहमध्ये १५ वटामा अधिकांश वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। यसले जिल्ला अधिवेशनका लागि आवश्यक संगठनात्मक आधार तयार भएको पत्रमा उल्लेख छ।

यसअघि निजगढमा जिल्ला अधिवेशनका लागि मिति र स्थानसमेत निर्धारण गरिएको थियो। तर, संगठनभित्रको विवाद र असमझदारीका कारण केन्द्रीय निर्वाचन आयोगले अधिवेशन प्रक्रिया स्थगित गरेको थियो। त्यसपछि नयाँ मिति घोषणा नहुँदा जिल्ला संगठन लामो समयदेखि निर्वाचित नेतृत्वविहीन अवस्थामा रहेको ज्ञापनपत्रमा जनाइएको छ।
नेतृत्व अभावले संगठनात्मक गतिविधिमा असर
जिल्लामा निर्वाचित नेतृत्व नहुँदा स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन, सदस्य परिचालन, जनसरोकारका मुद्दामा प्रभावकारी उपस्थिति तथा आगामी निर्वाचनको तयारीमा नकारात्मक असर परेको नेता तथा कार्यकर्ताहरूको भनाइ छ।

संगठनलाई चलायमान बनाउन र कार्यकर्तामा देखिएको अन्योल अन्त्य गर्न अधिवेशनलाई थप अनिश्चित बनाउन नहुने उनीहरूको माग छ। संगठन विस्तारका लागि स्थानीय तहमा भएका प्रगतिलाई आधार बनाएर केन्द्रीय नेतृत्वले आवश्यक निर्णय लिनुपर्ने उनीहरूको जोड छ।
विधानअनुसार अधिवेशन गराउन माग
ज्ञापनपत्रमा पार्टी विधानको धारा ४१(३) तथा धारा ४२(१) र (३) उल्लेख गर्दै कुनै पालिकाको अधिवेशन बाँकी रहेको वा जिल्ला समिति विघटित भएको अवस्थामा समेत तदर्थ वा जिम्मेवार समितिमार्फत जिल्ला अधिवेशन अघि बढाउन सकिने आधार रहेको दाबी गरिएको छ।
स्थानीय नेता तथा कार्यकर्ताहरूले विधानसम्मत प्रक्रिया अपनाउँदै सदस्यहरूको सहभागिता सुनिश्चित गर्न र जिल्ला अधिवेशनका लागि नयाँ मिति तत्काल निर्धारण गर्न केन्द्रीय नेतृत्वसँग माग गरेका छन्।
जिल्लामा संगठनात्मक संरचना निर्माणको काम अधिकांश स्थानीय तहमा अघि बढिसकेको अवस्थामा अधिवेशनलाई लामो समयसम्म अनिश्चित राख्नु उचित नहुने उनीहरूको निष्कर्ष छ। अब केन्द्रीय नेतृत्वले यस विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बारा जिल्लाका रास्वपा नेता तथा कार्यकर्तामाझ बढेको छ।











