बारा

वर्षौंदेखिको बजारमा डोजर, व्यवसायी भन्छन्– “हामीमाथि अन्याय भयो”

बाराको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान डोजर चलेपछि दशकौँदेखि सञ्चालनमा रहेको स्थानीय बजार एकाएक सुनसान बनेको छ । डिभिजन वन कार्यालय बारा ले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडा को सहयोगमा उक्त क्षेत्र खाली गराएको हो ।

वन कार्यालयका प्रमुख सुजित कुमार झा का अनुसार वन क्षेत्र तथा निकुञ्जभित्र अनधिकृत रूपमा बसोबास र व्यवसाय सञ्चालन भइरहेकाले हटाउने निर्णय कार्यान्वयन गरिएको हो ।

यसअघि सडक विभागले दुई साताअघि सूचना जारी गर्दै त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने सडक क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । त्यसपछि व्यवसायीहरूले सडकको दुवैतर्फ २५–२५ मिटर क्षेत्र आफैं खाली गरेर पसल तथा होटलहरू पछाडि सारेका थिए । तर शुक्रबार अचानक डोजर चलाइएपछि स्थानीयले राज्यले बल प्रयोग गरेको आरोप लगाएका छन् ।

स्थानीय अगुवा अनिल पाख्रिन ले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई पर्याप्त समय र विकल्प नदिई विस्थापित गरिएको गुनासो गरे । उनका अनुसार सडक क्षेत्र खाली गरिसकेपछि पनि थप सूचना वा समन्वयबिनै संरचना हटाइनु अन्यायपूर्ण भएको हो ।

तीन नम्बर पुल क्षेत्र लामो समयदेखि यात्रुहरूको विश्रामस्थल र व्यस्त होटल बजारका रूपमा परिचित थियो । यहाँ करिब ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए । बजार हटाइएपछि धेरै परिवारको रोजीरोटी संकटमा परेको स्थानीयको भनाइ छ ।

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बा ले पसलको आम्दानीकै भरमा ऋण लिएर हालै नयाँ घर निर्माण गरेको बताइन् । “सडकको सीमाभन्दा बाहिर बसेपछि सुरक्षित हुन्छ भन्ने विश्वास थियो, तर अहिले सबै सपना भत्किएको महसुस भएको छ,” उनले दुखेसो पोखिन् ।

यस्तै उद्योग वाणिज्य संघ जीतपुरसिमरा का अध्यक्ष मोहन शर्मा ले व्यवसायीलाई पर्याप्त समय नदिई डोजर चलाउनु राज्यको कठोर कदम भएको टिप्पणी गरे । उनले यस घटनाले स्थानीयको जीविकोपार्जन र मानवअधिकार दुवै प्रभावित भएको बताए ।

तर वन कार्यालयले भने पटकपटक माइकिङ, लिखित सूचना तथा आग्रह गर्दा पनि अटेर गरिएकाले अन्ततः कानुनी प्रक्रिया अनुसार हटाउनुपरेको स्पष्ट पारेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *