बारा मधेस प्रदेश

१७ विद्यार्थीका लागि १० लाख बजेट ! कोल्हवी–११ को विद्यालयमा राज्यको लगानीमाथि गम्भीर प्रश्न

कोल्हवी, बारा ।
कोल्हवी नगरपालिका–११ को नयाँ टोल बेलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय को अवस्था हेर्दा सरकारी शिक्षा प्रणालीको वास्तविक चित्र झल्किन्छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या जम्मा १७ जना छ। तर विद्यालयमा ५ जना शिक्षक कार्यरत छन् भने प्रदेश सरकारबाट हरेक वर्ष करिब १० लाख रुपैयाँ बजेट खर्च हुने गरेको स्थानीयको भनाइ छ।

यति ठूलो रकम खर्च भइरहँदा पनि विद्यालयको भवन जीर्ण बन्दै गएको, शैक्षिक वातावरण कमजोर रहेको र विद्यार्थी संख्या बढ्नुको सट्टा झन् घट्दै गएको देखिन्छ। विद्यालयको अवस्था हेर्दा राज्यको लगानी प्रभावकारी रूपमा उपयोग भएको छ कि छैन भन्ने गम्भीर प्रश्न उठेको छ।

स्थानीयवासीका अनुसार लाखौं रुपैयाँ खर्च भएको देखाइए पनि विद्यालयको भौतिक अवस्था सुधारिएको छैन। विद्यार्थी आकर्षित गर्ने कुनै प्रभावकारी योजना नदेखिएको र सरकारी विद्यालयप्रतिको विश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

विद्यालयमा ११ जना विद्यार्थीका लागि ५ जना शिक्षक हुनु र वार्षिक लाखौं रुपैयाँ खर्च भइरहनुले शिक्षा व्यवस्थापन, बजेटको प्रभावकारिता र सरकारी संयन्त्रको भूमिकामाथि प्रश्न उठेको छ। स्थानीयले विद्यालयमा भएको खर्चको पारदर्शी विवरण सार्वजनिक गर्न तथा उपलब्धिको मूल्याङ्कन गर्न माग गरेका छन्।

यसैबीच, कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, शिक्षा शाखा प्रमुख मिश्रीलाल शाह, वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको भूमिकामाथि पनि स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूको प्रश्न छ—विद्यार्थी घट्दै जाँदा, भवन जीर्ण बन्दै जाँदा र लाखौं रुपैयाँ खर्च भइरहँदा सम्बन्धित निकायले अनुगमन किन गरेन? शिक्षा सुधारका लागि ठोस योजना किन बनेन?

स्थानीयको माग छ कि विद्यालयमा खर्च भएको बजेट, शिक्षक व्यवस्थापन, विद्यार्थी संख्या घट्नुको कारण तथा विद्यालयको समग्र अवस्थाबारे निष्पक्ष छानबिन गरियोस्। साथै सार्वजनिक रकमको सदुपयोग भएको छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको भनाइ छ।

अहिले यो विद्यालय एउटा गम्भीर प्रश्नको केन्द्रमा पुगेको छ—विद्यार्थी १७ जना, शिक्षक ५ जना, बजेट १० लाख; तर विद्यालयको अवस्था किन दिनप्रतिदिन खस्किँदै गएको छ? यसको उत्तर अब सम्बन्धित निकायले दिनुपर्ने बेला आएको स्थानीयको भनाइ छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *