बारा

करातेमा कोल्हबीका सुलभको स्वर्णिम सफलता, राष्ट्रपति रनिङ सिल्डमा देशभर चम्कियो प्रतिभा

बारा, कोल्हबी । राष्ट्रियस्तरको प्रतिष्ठित १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा कोल्हबीका युवा खेलाडी सुलभ चौधरीले करातेतर्फ स्वर्ण पदक जित्दै उल्लेखनीय सफलता हात पारेका छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न एकल काता विधाको फाइनलमा उनले कोशी प्रदेशका प्रतिस्पर्धीलाई ४–१ ले हराउँदै उपाधि जितेका हुन्।

११ वर्षीय सुलभले प्रतियोगिताभर लगातार प्रभावशाली प्रदर्शन गरेका थिए। उनले क्वार्टरफाइनलमा मधेस प्रदेशका खेलाडीलाई ५–० तथा सेमिफाइनलमा गण्डकी प्रदेशका प्रतिस्पर्धीलाई पनि समान ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। निर्णायक प्रतिस्पर्धामा पनि उनी आत्मविश्वासका साथ प्रस्तुत हुँदै स्वर्ण पदक कब्जा गर्न सफल भए।

काठमाडौँस्थित अडसे इन्टरनेशनल एकेडेमीमा कक्षा ७ मा अध्ययनरत सुलभ कोल्हबी नगरपालिका–१ का वडा अध्यक्ष राजहरण चौधरीका नाति तथा सरोज चौधरीका सुपुत्र हुन्। उनले प्रशिक्षक राजेन्द्र कुमार ओझाको मार्गदर्शनमा प्रतियोगितामा सहभागिता जनाएका थिए।

सुलभको सफलतापछि कोल्हबी नगरमा खुशीको माहोल छ। स्थानीय खेलप्रेमी, शिक्षक, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाले उनलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनको उपलब्धिले बारा जिल्लासहित बागमती प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *