प्रदेश खबर बारा

रास्वपाभित्र ठूलो विवाद चर्कियो : बारा क्षेत्र–१ का माननीय गणेश धिमालमाथि अधिवेशन कब्जा, हस्तक्षेप र पकेट राजनीति चलाएको गम्भीर आरोप

बारा । आदर्श कोतवाल गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशनलाई लिएर बारा क्षेत्र नं. १ का माननीय गणेश धिमालमाथि अधिवेशन प्रक्रिया नै प्रभावित पार्दै “कब्जा” गरेको, संगठनात्मक संरचनामै हस्तक्षेप गरेको तथा आन्तरिक शक्ति सन्तुलन भत्काउने गरी गतिविधि गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।

विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको उक्त आरोपपछि जिल्ला तथा स्थानीय तहमा व्यापक असन्तुष्टि, विरोध र छलफल चुलिँदै गएको देखिएको छ। पार्टीभित्रै नेतृत्व शैली, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठ्न थालेपछि विवाद थप गहिरिँदै गएको बताइन्छ।

स्थानीय स्रोत तथा केही रास्वपा समर्थकहरूको दाबीअनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुको सट्टा बाह्य प्रभाव र दबाबमार्फत निर्देशित रूपमा सञ्चालन गरिएको हो। विशेषगरी फौजदारी मुद्दा लागेका प्रतिनिधि विजय कुमार यादवसँग मिलेर माननीय धिमालले फोनमार्फत डिके सिंहलाई पालिकाको सभापति नबनाउन दबाब दिएको आरोपसमेत सार्वजनिक रूपमा उठाइएको छ।

त्यसैगरी, अधिवेशनको क्रममा आन्तरिक शक्ति सन्तुलन र संगठनभित्र आफ्नो प्रभाव कायम राख्ने उद्देश्यले योजनाबद्ध रूपमा “पकेट ग्रुप” निर्माण गरिएको र सोही समूहमार्फत निर्णय प्रक्रियालाई प्रभावित पारिएको आरोपसमेत लगाइएको छ। लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई नै बाइपास गर्दै निश्चित व्यक्तिलाई सभापति बनाइ केन्द्रमा सिफारिस गरिएको दाबीसमेत गरिएको छ।

यस्तै, बाराका १६ वटै पालिकामा समेत यस्तै शैली अपनाएर आफ्ना निकट व्यक्तिहरूलाई सभापति बनाइ संगठनलाई एकतर्फी ढङ्गले अघि बढाइएको आरोपसमेत उठ्न थालेको छ। यसले पार्टीभित्र असन्तुष्टि बढाउँदै स्थानीय कार्यकर्तादेखि समर्थकसम्ममा विभाजनको अवस्था सिर्जना भएको बताइन्छ।

अधिवेशनपछि उत्पन्न विवादलाई लिएर विभिन्न तहमा आलोचना तीव्र बनेको छ भने सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म विषयले चर्चा पाएको छ। कतिपयले यसलाई पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर चुनौतीका रूपमा समेत व्याख्या गर्न थालेका छन्।

यद्यपि, यस विषयमा माननीय गणेश धिमाल तथा सम्बन्धित पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *