कलैयाबाट बेपत्ता २३ महिने बालिका सिसवा महेशपुरमा सकुशल भेटिइन्, रातभर कहाँ थिइन् भन्नेबारे अनुसन्धान सुरु
सुरज बिक्रम | बारा
बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्सास्थित घरछेउबाट शनिबार साँझदेखि अचानक बेपत्ता भएकी २३ महिने बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। बालिका भेटिएपछि अहोरात्र चिन्तामा डुबेको परिवार र स्थानीय समुदायमा ठूलो राहत र खुसी छाएको छ। यद्यपि, २३ महिनाकी अबोध बालिका घरबाट करिब साढे दुई किलोमिटर टाढा रहेको सिसवा महेशपुरसम्म कसरी पुगिन् र रातभर उनी कुन अवस्थामा कहाँ रहिन् भन्ने विषय भने अझै रहस्यमय बनेको छ।
घरछेउबाटै हराएपछि प्रहरीको तीव्र खोजी
कट्टीपर्सा निवासी मुकेश मण्डलकी २३ महिने छोरी बिन्दी शनिबार साँझ करिब ५ बजेतिर घरअगाडि खेलिरहेको अवस्थाबाट अचानक गायब भएकी थिइन्। आफन्त र स्थानीयवासीले गाउँ तथा आसपासका सम्भावित सबै स्थानमा खोजी गर्दा पनि बालिकाको कुनै पत्तो नलागेपछि त्रसित बनेको परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको प्रत्यक्ष कमान्डमा विशेष सुरक्षा टोली परिचालन गरिएको थियो। प्रहरीले रातभर सर्च अभियान जारी राख्दै नेपाल प्रहरीको तालिमप्राप्त कुकुर (Dog Squad) समेत प्रयोग गरेर सम्भावित झाडी, खेतबारी, सुनसान सडक तथा बस्तीहरूमा सघन खोजतलास अघि बढाएको थियो।
सडक किनारको नालामा रोइरहेको अवस्थामा भेटिइन्
रातभरको निरन्तर खोजीपछि आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२७ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा बालिका रोइरहेको अवस्थामा फेला परेकी हुन्। बाटो हिँड्दै गरेकी स्थानीय एक महिलाले नालाबाट बालिका रोएको आवाज सुनेपछि नजिकै गएर हेर्दा बिन्दीलाई देखेकी थिइन्।
ती महिलाले तत्काल बालिकाको उद्धार गरी आफ्नो घरमा लगेर सुरक्षित राखिन् र लगत्तै परिवार तथा प्रहरीलाई खबर गरिन्। खबर पाउनासाथ घटनास्थल पुगेका पिता मुकेश मण्डलले छोरीलाई सकुशल आफ्नो काखमा पुन: पाउँदा भावुक हुँदै खुसी व्यक्त गरे। बालिकाको शारीरिक अवस्था र स्वास्थ्य परीक्षणका लागि तत्काल अस्पताल लैजाने तयारी गरिएको परिवारले जनाएको छ।
गरिमा प्रकरणको त्रास र बढ्दो आशङ्का
केही दिनअघि मात्रै जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर क्षेत्रबाट बेपत्ता भएकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि विभिन्न ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सो घटनाको पीडा, आक्रोश र सन्त्रासबाट बारावासी अझै बाहिर निस्कन सकेका छैनन्। गरिमाका हत्यारालाई कडा कारबाहीको माग गर्दै जिल्लाभर प्रदर्शन भइरहेकै समयमा फेरि अर्की २३ महिने बालिका हराएपछि स्थानीयवासीमा तीव्र भय र संशय फैलिएको थियो।
बिन्दीको सकुशल उद्धारले सबैलाई ठूलो राहत दिएको भए पनि २३ महिनाकी सानी बालिका आफैँ हिँडेर अर्को वडाको सिसवा महेशपुरसम्म पुग्न असम्भवप्रायः रहेको स्थानीयको भनाइ छ। बालिकालाई कसैले अपहरण वा अन्य कुनै आपराधिक नियतले लगेर प्रहरीको तीव्र दबाब र कुकुरसहितको खोजीका कारण छाडेर भागेको हो वा अन्य कुनै कारण छ भन्नेबारे गम्भीर प्रश्न खडा भएको छ।
घटनाको सुक्ष्म अनुसन्धान जारी
बालिका सकुशल फेला परे पनि जिल्ला प्रहरी कार्यालय बाराले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धानलाई निरन्तरता दिएको छ। बालिका हराएको समयदेखि फेला परेको समयसम्मका सम्भावित घटनाक्रम, बाटोका सीसीटीभी फुटेज तथा स्थानीयको गतिविधिको सुक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बालिकाको शीघ्र र सकुशल उद्धारलाई नै मुख्य प्राथमिकता दिएर रातभर काम गरेको र अब घटना पछाडिको वास्तविक तथ्य पत्ता लगाइछाड्ने प्रतिबद्धता जनाएको छ। साथै, घटनाबारे कुनै निश्चित निष्कर्षमा नपुगुन्जेल भ्रामक अफवाह र अड्कलबाजी नगर्न प्रहरी प्रशासनले सर्वसाधारणसँग अपिलसमेत गरेको छ।











