कोल्हबीमा नगर समिति गठनपछि रास्वपा जिल्ला समितिको चेतावनी, नेतृत्व विवाद चर्कियो
बारा, वैशाख १३— राष्ट्रिय स्वतन्त्र पार्टी को कोल्हबी नगरपालिका मा नगर तदर्थ समिति गठन गरिएपछि जिल्ला समितिले आधिकारिक पत्रमार्फत कडा चेतावनी जारी गरेको छ। यस घटनाले पार्टीभित्रको नेतृत्व विवाद खुला रूपमा सतहमा आएको देखिएको छ।

आज कोल्हबीमा आयोजित कार्यक्रम गणेश धिमाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रमबाट नगर तदर्थ समिति गठन गर्दै संयोजकमा थानेश्वर पाहाडी चयन गरिएको बताइएको छ।
नगर समिति गठन भएको केही समयपछि रास्वपा बारा जिल्ला समिति ले प्रेस विज्ञप्ति जारी गर्दै कोल्हबी नगरपालिकाको आधिकारिक संयोजक सारजङ्ग थापा नै रहेको स्पष्ट पारेको छ। जिल्ला समितिले नगर भेला सम्पन्न नहुञ्जेलसम्म पार्टीका सम्पूर्ण सांगठनिक गतिविधि उनकै नेतृत्वमा मात्र मान्य हुने जनाएको छ।

विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत नयाँ संयोजक तोकिएको भन्दै गरिएको प्रचारलाई अनाधिकृत, भ्रामक र संगठनविरुद्धको गतिविधि भनिएको छ। साथै, समानान्तर संरचना खडा गर्ने, भ्रम फैलाउने तथा आधिकारिक निर्णयविरुद्ध जाने व्यक्तिमाथि संगठनात्मक तथा अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला समितिको चेतावनी नगर समिति गठन भइसकेपछि आएको हुनाले कोल्हबीमा रास्वपाभित्र नेतृत्व विवाद अझ तीव्र बनेको अनुमान गरिएको छ। स्थानीय कार्यकर्ताबीच अब आधिकारिक नेतृत्व कसलाई मान्ने भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
अब जिल्ला समितिले नवगठित समितिप्रति कस्तो कदम चाल्छ र विवाद कसरी समाधान हुन्छ भन्ने विषयमा चासो बढेको छ।








