कोल्हवीबाट संकलित राहत नुवाकोट पुग्यो, प्रहरीमार्फत बाढीपीडितलाई हस्तान्तरण
सुरज बिक्रम कोल्हवी, बारा ।
प्राकृतिक विपद्को कठिन घडीमा मानवीय संवेदना र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाराको कोल्हवीबाट संकलन गरिएको राहत सामग्री बाढी प्रभावित जिल्ला नुवाकोट पुर्याएर हस्तान्तरण गरिएको छ। कोल्हवीका स्थानीयवासी, उद्योगी-व्यवसायी, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त सहभागितामा संकलन गरिएको सो राहत सामग्री नुवाकोटको विदुर पुर्याई आधिकारिक रूपमा जिल्ला प्रहरी कार्यालयमार्फत हस्तान्तरण गरिएको हो।
कोल्हवी नगर उद्योग वाणिज्य संघको नेतृत्वमा सञ्चालित अभियानमार्फत विपद् प्रभावित नागरिकहरूलाई तत्काल राहत र सहारा पुर्याउने उद्देश्य राखिएको थियो। संघका अध्यक्ष रामप्रसाद प्रसाईंको अगुवाइमा सुरु भएको यस मानवीय कार्यमा राजनीतिक आस्था र वैचारिक भिन्नतालाई पन्छाउँदै सर्वसाधारणदेखि समाजका हरेक वर्ग र तहका नागरिकहरू ऐक्यबद्ध भएर खटिएका थिए।

१ लाख २६ हजार नगद र ठूलो परिमाणमा खाद्यान्न संकलन
अभियानका क्रममा स्थानीयस्तरबाट नगद १ लाख २६ हजार ३ सय ३० रुपैयाँका साथै ठूलो परिमाणमा खाद्यान्न तथा अत्यावश्यक जिन्सी सामग्रीहरू संकलन गरिएको थियो। विपद्मा परेका परिवारहरूलाई तत्कालै दैनिक गुजारा चलाउन सहज होस् भन्ने हेतुले खाद्यान्न, स्वास्थ्य तथा संरक्षणका सामग्रीहरूलाई प्राथमिकता दिइएको थियो।
संकलित सामग्रीहरूमा २५ बोरा चामल, ३४ बोरा चिउरा, ४६ कार्टुन चाउचाउ, १६ बोरा भुजा, ४ बोरा सोयाबिन, १० कार्टुन बिस्कुट, १ बोरा दालमोठ, ३८ प्याकेट पिउने पानी, १ बोरा नुन, दाल, सेनिटरी प्याड, मास्क तथा त्रिपाल लगायतका अत्यावश्यक वस्तुहरू रहेका छन्।

संकलित नगद रकम रु. १,२६,३३० लाई पारदर्शी रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ। त्यसैगरी, संकलित जिन्सी सामग्रीहरूलाई भने बिचौलियामुक्त र सुरक्षित ढङ्गले वास्तविक बाढीपीडितहरूकै हातसम्म पुर्याउने उद्देश्यका साथ सवारी साधनमार्फत नुवाकोट लगिएको थियो।
निवर्तमान नगर प्रमुखसहितको टोली नुवाकोटमा
राहत सामग्री बोकेर कोल्हवीबाट नुवाकोटतर्फ प्रस्थान गरेको टोलीमा कोल्हवी नगरपालिकाका निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी, स्थानीय युवा तथा अभियन्ता रसिक सुवेदीलगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। टोलीले नुवाकोटको सदरमुकाम विदुर पुगेर संकलित सम्पूर्ण खाद्यान्न तथा जिन्सी सामग्रीहरू स्थानीय प्रहरी प्रशासनलाई बुझाएको हो।
नेपाल प्रहरीमार्फत वितरण गर्दा वास्तविक प्रभावित क्षेत्र, प्राथमिकतामा परेका अतिविपन्न परिवार र राहतको तत्काल आवश्यकता रहेका नागरिकहरूसम्म सामग्री विनाझन्झट र समान रूपमा पुग्ने विश्वास टोलीले व्यक्त गरेको छ।
सामाजिक एकता र मानवीय सहयोगको सन्देश
सामान्य अवस्थामा फरक-फरक राजनीतिक विचार, पेसा र सामाजिक भूमिकामा रहेका व्यक्तिहरू विपद्को समयमा एउटै उद्देश्यका लागि कसरी एकजुट हुन सक्छन् भन्ने कुरा कोल्हवीबासीले व्यवहारमै पुष्टि गरिदिएका छन्। राजनीतिक दल, व्यवसायी र सर्वसाधारणको यो साझा सहकार्यले समाजमा आपसी सद्भाव र भाइचाराको मजबुत सन्देश प्रवाह गरेको छ।

राहत संकलन गरेर आफ्नै गाउँ-ठाउँमा सीमित राख्नुभन्दा टाढाको जिल्लामा पुगेर वास्तविक पीडितलाई सहयोग गर्नुले अभियानलाई सार्थक बनाएको सहभागीहरूको भनाइ छ। “पीडा जहाँ भए पनि सहयोगको हात टाढा हुँदैन” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सञ्चालित यस अभियानले विपद् व्यवस्थापनमा नागरिकस्तरबाट हुने सहकार्यको महत्त्वलाई पुनः उजागर गरेको छ।
राहत सामग्री नुवाकोट पुगेर हस्तान्तरण भएसँगै कोल्हवीबाट सुरु भएको यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ, जसले प्रभावित समुदायलाई पुनरुत्थानको दिशामा थोरै भए पनि राहत र हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।











