चार सांसदको दबाबपछि रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति ? चन्दन स्वर्णकारमाथि केन्द्रित घेराबन्दीको चर्चा तीव्र
सुरज विक्रम , बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। साथै, बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय पनि गरिएको बताइएको छ।
तर पछिल्लो समय बारा जिल्लामा विकसित राजनीतिक घटनाक्रमलाई हेर्दा यो निर्णय केवल संगठन पुनर्गठनको प्रक्रिया मात्र नभई जिल्ला सभापति चन्दन स्वर्णकारलाई कमजोर बनाउने योजनाको रूपमा समेत हेरिएको छ।
रास्वपाभित्र बारा जिल्लामा लामो समयदेखि दुई धारबीच शक्ति संघर्ष चलिरहेको चर्चा रहँदै आएको थियो। पार्टीको आधार निर्माणदेखि संगठन विस्तारसम्म सक्रिय भूमिका खेलेका चन्दन स्वर्णकार पछिल्लो समय जिल्लामा प्रभावशाली नेताका रूपमा उदाएका थिए। तर, उनीसँग असन्तुष्ट समूहले निरन्तर केन्द्रसम्म दबाब सिर्जना गरिरहेको पार्टीभित्र चर्चा चल्दै आएको थियो।
विशेषगरी बारा क्षेत्रका चार जना सांसद निकट नेताहरू र केही प्रदेश तहका नेताहरू स्वर्णकारको कार्यशैलीप्रति असन्तुष्ट रहेको चर्चा बीच अन्ततः जिल्ला समिति नै विघटनको निर्णय आएको हो। यसलाई धेरैले “बारा संगठन कब्जाको अन्तिम तयारी” को रूपमा व्याख्या गर्न थालेका छन्।
पार्टीभित्रकै एकथरी कार्यकर्ताले भने जनतामाझ संगठन बनाउने नेतामाथि योजनाबद्ध घेराबन्दी गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार बारा जिल्लामा रास्वपाको आधार निर्माणमा चन्दन स्वर्णकारको मुख्य भूमिका रहे पनि अहिले शक्ति केन्द्रित राजनीतिका कारण उनलाई पाखा लगाउने प्रयास भइरहेको छ।
यता, अर्को पक्षले भने संगठनभित्र देखिएको असन्तुष्टि, समन्वय अभाव र आगामी अधिवेशनलाई व्यवस्थित बनाउन समिति विघटन आवश्यक भएको दाबी गरेको छ।
रास्वपाले बारामा अब नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी गरेसँगै जिल्लाको राजनीति थप तातिएको छ। जिल्ला समिति विघटनपछि कार्यकर्ताबीच तीव्र बहस सुरु भएको छ भने आगामी अधिवेशनले बारामा रास्वपाको शक्ति सन्तुलन कता मोडिन्छ भन्ने चासो बढेको छ।







