दल फेर्यो, अवसर फेरिएन” : डा. द्वारिका उप्रेतीलाई दोहोरिँदो संरक्षणले एमाले कोल्हबीभित्र चर्कियो असन्तुष्टि
सुरज बिक्रम, कोल्हबी ।
नेकपा (एमाले) कोल्हबीभित्र अवसर वितरणमा पक्षपात, व्यक्तिगत स्वार्थ र पहुँचको राजनीति हावी भएको भन्दै कार्यकर्ताहरू खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्। लामो समयदेखि पार्टी संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाएर सीमित व्यक्तिलाई मात्रै अवसर र संरक्षण दिइएको आरोपले अहिले एमाले कोल्हबीभित्रको आन्तरिक असन्तोष सतहमा आएको छ।
स्थानीय कार्यकर्ताहरूका अनुसार पूर्व सांसद अच्युत मैनाली को प्रभावमा विभिन्न नियुक्ति, सिफारिस र राजनीतिक अवसर बाँडफाँड हुने गरेको गुनासो बढ्दो छ। उनीहरू भन्छन्, “पार्टीमा योगदान, संघर्ष र निष्ठाको मूल्यांकन हुँदैन, नेतृत्वसँगको निकटता नै अवसरको आधार बनेको छ।”
विशेषगरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको प्रमुख पदमा डा. द्वारिका उप्रेती को नियुक्तिलाई लिएर एमालेभित्र पहिलेदेखि नै प्रश्न उठ्दै आएको छ। कार्यकर्ताहरूको आरोप अनुसार उक्त नियुक्ति योग्यता र संगठनात्मक योगदानभन्दा पनि शक्तिकेन्द्रको पहुँचका आधारमा भएको थियो।
राजनीतिक वृत्तमा उप्रेतीले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको, पछि पुनः एमालेमा फर्किएको र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिमा समेत देखिन थालेको विषयले एमाले कार्यकर्ताहरू झन् असन्तुष्ट बनेका छन्। उनीहरूको भनाइ छ— “दल बदल्दै हिँड्ने व्यक्तिलाई अवसर, तर पार्टीका इमानदार कार्यकर्तालाई बेवास्ता; यो कस्तो राजनीतिक संस्कार हो ?”
एमालेभित्र अहिले सबैभन्दा बढी गुनासो जनप्रतिनिधिहरूप्रति देखिएको छ। केन्द्रदेखि वडा तहसम्म निर्वाचित जनप्रतिनिधिहरूले आफ्नै कार्यकर्ताभन्दा व्यक्तिगत सम्बन्ध भएका व्यक्ति, अवसरवादी समूह र विपक्षी पृष्ठभूमिबाट आएका व्यक्तिलाई प्राथमिकता दिएको आरोप कार्यकर्ताहरूले लगाएका छन्।
कोल्हबीका केही असन्तुष्ट कार्यकर्ताहरू भन्छन्,
“निर्वाचनमा रातदिन खटिने कार्यकर्ता अहिले उपेक्षित छन्। चुनाव जितेपछि जनप्रतिनिधिहरू कार्यकर्ताको होइन, आफ्नै घेरा र स्वार्थ समूहको पक्षमा लागे।”
उनीहरूका अनुसार पार्टीभित्र योगदानभन्दा पहुँच, निष्ठाभन्दा व्यक्तिगत सम्बन्ध र संघर्षभन्दा चाकडी हावी हुन थालेपछि तल्लो तहका कार्यकर्तामा गम्भीर निराशा बढेको छ। यही कारण संगठनात्मक एकता कमजोर बन्दै गएको र पार्टीप्रतिको भरोसा समेत खस्किँदै गएको उनीहरूको दाबी छ।
राजनीतिक विश्लेषकहरू पनि कुनै पनि दलमा अवसर वितरण निष्पक्ष नभए, नेतृत्व सीमित घेरामा केन्द्रित भए र कार्यकर्ताको भावना बेवास्ता गरिए संगठन कमजोर हुनु स्वाभाविक भएको बताउँछन्। कोल्हबीमा एमालेभित्र देखिएको बढ्दो असन्तुष्टि त्यसैको संकेत भएको टिप्पणी हुन थालेको छ।
कार्यकर्ताहरूले चेतावनी दिएका छन्— यदि पार्टी नेतृत्वले समयमै असन्तुष्टि सम्बोधन नगर्ने हो भने आगामी निर्वाचनमा जनतामाझ गएर मत माग्न कठिन हुने मात्र होइन, एमालेको संगठनात्मक शक्ति र जनाधारमा गम्भीर असर पर्न सक्नेछ।







