जीउँदो माछा संघका केन्द्रीय अध्यक्ष जंग बहादुर साहको सपना : कोल्हबीमा ‘माछा रिसोर्ट’ को शिलान्यास
बारा, कोल्हबी। नेपाल जीउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंग बहादुर साह को लगानी तथा पहलमा कोल्हबी नगरपालिका वडा नं. ५ बोधवनमा निर्माण हुन लागेको ‘माछा रिसोर्ट’ को आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। माछा व्यवसाय, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको रिसोर्टलाई कोल्हबी क्षेत्रकै एक महत्वाकांक्षी निजी परियोजनाका रूपमा हेरिएको छ।
शिलान्यास कार्यक्रम स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले कोल्हबी क्षेत्रमा पर्यटन पूर्वाधार विस्तारका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको उल्लेख गर्दै जंग बहादुर साहको पहल प्रशंसनीय भएको बताएका थिए।

निर्माणाधीन रिसोर्टमा ताजा माछाका परिकार, प्राकृतिक सौन्दर्यले भरिपूर्ण वातावरण, परिवार तथा साथीभाइसँग समय बिताउन मिल्ने विश्रामस्थल, मनोरञ्जनका विभिन्न सुविधा तथा आकर्षक पोखरीको व्यवस्था गरिने जनाइएको छ। रिसोर्टले आगन्तुकलाई स्वाद र प्रकृतिको अद्वितीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
लामो समयदेखि माछा व्यवसायमा सक्रिय रहेका साह हाल नेपाल जीउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्षका रूपमा कार्यरत छन्। उनले माछा व्यवसायलाई आधुनिक र व्यवस्थित बनाउने अभियानसँगै पर्यटन क्षेत्रलाई समेत जोडेर स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले रिसोर्ट निर्माण अघि बढाएको बताए।

उनका अनुसार रिसोर्ट सञ्चालनमा आएपछि कोल्हबी मात्र नभई बारा, पर्सा, रौतहट, सर्लाही लगायत आसपासका जिल्लाका आन्तरिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। साथै स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न समेत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीयवासीले समेत रिसोर्ट सञ्चालनमा आएपछि कोल्हबीको पहिचान पर्यटनसँग जोडिने, व्यापार व्यवसाय विस्तार हुने तथा क्षेत्रीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छन्। निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो रिसोर्टले कोल्हबीलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।








