करैयामाई गोल्डकपमा आजको बहुप्रतीक्षित भिडन्त : घरेलु टोली नवजन प्रगति युवा क्लब र हेटौंडा एकेडेमी आमनेसामने
उमजन, बारा । करैयामाई गाउँपालिका–७ उमजनको खेल मैदान यतिबेला फुटबलमय बनेको छ। जारी तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक नवजन प्रगति युवा क्लब र हेटौंडा एकेडेमी बीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ। घरेलु समर्थकको साथ पाएको नवजन प्रगति युवा क्लब र अनुभवी टोली हेटौंडा एकेडेमीबीचको खेलले प्रतियोगिताको रोमाञ्चकता थप बढाउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलमा भने जेजेवाइसी सिमरा ले शानदार प्रदर्शन गर्दै अल्तोकि क्लब रौतहट माथि ३–० गोलको स्पष्ट जित निकालेको थियो। खेलको सुरुदेखि नै आक्रामक देखिएको सिमराले रौतहटलाई दबाबमा राख्दै लगातार अवसर सिर्जना गरेको थियो। सशक्त टिमवर्क र उत्कृष्ट फिनिसिङको मद्दतले तीन गोल गर्दै सिमराले अर्को चरणतर्फ आफ्नो यात्रा बलियो बनाएको हो।

सिमराको जितमा प्रभावशाली भूमिका खेलेका खेलाडी बिक्रम थोकर ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले खेलभर देखाएको उत्कृष्ट प्रदर्शनको कदरस्वरूप नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो। पुरस्कार करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव ले हस्तान्तरण गरेका थिए।
तेस्रो दिनको खेल नवजन प्रगति युवा क्लबका उपाध्यक्ष मनिन्द्र चौधरी को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, सदस्य शंकर थापा, स्वास्थ्य संयोजक जितेन्द्र पासवान, शिक्षा तथा खेलकुद संयोजक उमेश कुमार यादव, क्लब अध्यक्ष रुपनारायण यादव लगायत खेलप्रेमी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय स्तरमा फुटबल खेलको विकास, प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले यस वर्ष पनि दर्शकको राम्रो साथ पाएको छ। प्रत्येक खेलसँगै मैदानमा दर्शकको संख्या बढ्दै गएको छ भने प्रतियोगिताले उमजन क्षेत्रलाई खेलकुदको उत्सवमा परिणत गरेको छ।

आजको खेलमा घरेलु टोलीले आफ्नो मैदानको फाइदा उठाउने प्रयास गर्नेछ भने हेटौंडा एकेडेमी जित निकाल्दै उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा रहनेछ। दुवै टोली जितको खोजीमा मैदान उत्रिने भएकाले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फुटबलप्रेमीहरूको नजर अहिले यही खेलमा केन्द्रित छ।








