प्रदेश खबर बारा मधेस प्रदेश राष्ट्रिय

देशभरका बगाले थापा बन्धुलाई एकताबद्ध गर्ने अभियान : हेटौंडामा प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र थापा सर्वसम्मत

हेटौंडा । देशभर छरिएर रहेका बगाले थापा बन्धुहरूलाई एउटै छानामुनि एकताबद्ध गर्दै बन्धुत्व, सामाजिक एकता, ऐतिहासिक पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले बगाले थापा वंश सेवा समितिको प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशन मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा सम्पन्न भएको छ।

उत्साहपूर्ण वातावरणमा सम्पन्न अधिवेशनले समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट राजेन्द्र थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। विभिन्न जिल्ला तथा स्थानबाट सहभागी बगाले थापा बन्धु तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिबीच नयाँ नेतृत्व चयन गरिएको हो।

अधिवेशनबाट सञ्जय थापा उपाध्यक्ष, ऋृतु थापा सचिव र किशोर थापा कोषाध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै भेष ब. थापा, सेवक थापा, अंविन्द्र थापा, प्रितम थापा र कमला उप्रेति थापा सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र थापालाई कार्यक्रममा उपस्थित बगाले थापा बन्धुहरूले अबिर तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उहाँले समितिको नेतृत्वलाई व्यक्तिगत पदभन्दा पनि बन्धुहरूको साझा जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका विभिन्न भूभागमा छरिएर रहेका बगाले थापा बन्धुहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउँदै संस्थागत रूपमा अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो मुख्य ध्येय भनेकै देशैभरि रहेका बगाले थापा बन्धुहरूलाई आपसमा जोड्नु र एकीकृत गर्नु हो। बगाले थापाको गौरवशाली पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन तथा भावी पुस्तालाई आफ्नो वंश, इतिहास र परम्पराप्रति गर्व गर्ने बनाउन हामी निरन्तर क्रियाशील रहनेछौँ।”

अधिवेशनमा सहभागी वक्ताहरूले बगाले थापा समुदायको ऐतिहासिक पहिचान र मौलिक संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा समेत समितिले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले देशका विभिन्न स्थानमा रहेका बन्धुहरूबीच आपसी परिचय, सहकार्य र भाइचाराको सम्बन्ध विस्तार गर्न संस्थाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए।

प्रथम राष्ट्रिय अधिवेशनले बगाले थापा बन्धुहरूलाई संगठित गर्ने अभियानलाई औपचारिक रूपमा संस्थागत आधार प्रदान गरेको सहभागीहरूको भनाइ छ। आगामी दिनमा देशभर रहेका बगाले थापा परिवार तथा बन्धुहरूको विवरण संकलन, आपसी सम्पर्क विस्तार, वंशावली तथा ऐतिहासिक तथ्यहरूको संरक्षण, सामाजिक सेवा र सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिले बगाले थापा समुदायको पहिचान र गौरवलाई भावी पुस्तासम्म पुर्‍याउने तथा देशभर रहेका बन्धुहरूबीच एकता र सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। हेटौंडामा सम्पन्न प्रथम अधिवेशनलाई सहभागीहरूले बगाले थापा बन्धुहरूको एकता र संस्थागत यात्राको महत्वपूर्ण सुरुवातका रूपमा लिएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });