धिमालको पालामा पूरा भयो कोल्हवीको वर्षौंदेखिको सपना अब कोल्हवीमै सञ्चालन हुने मालपोत र नापी सेवा, स्थानीयमा खुशीको माहोल
सुरज बिक्रम, कोल्हवी
वर्षौंदेखि चर्चा र मागमा सीमित रहेको कोल्हवीमा मालपोत तथा नापी सेवा सञ्चालनको विषय अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको जग्गा प्रशासन शाखाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा विस्तार गर्ने निर्णय गरेसँगै कोल्हवी पनि पहिलो चरणको सूचीमा परेको हो।
सरकारले २०८३ सालमा देशभरका ३५ स्थानीय तहमा मालपोत तथा नापी सेवा विस्तार गर्ने योजना अघि सारेको छ। मधेश प्रदेश अन्तर्गत बाराको कोल्हवी नगरपालिका छनोटमा परेपछि यहाँका स्थानीयवासी उत्साहित बनेका छन्। अब जग्गा पास, नामसारी, नापजाँच, कित्ताकाट लगायतका सेवाका लागि सर्वसाधारणले कलैया धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई आवश्यक समन्वय गरी सेवा सञ्चालन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले निर्देशन दिइसकेको छ। स्थानीय तहबाटै सेवा दिने सरकारको नीति अन्तर्गत कोल्हवीलाई प्राथमिकतामा राखिएको बताइएको छ।
कोल्हवी क्षेत्रमा मालपोत र नापी कार्यालय आवश्यक रहेको आवाज भने नयाँ होइन। वर्षौंदेखि स्थानीय नागरिक, व्यवसायी तथा जनप्रतिनिधिहरूले यसको माग उठाउँदै आएका थिए। विभिन्न चरणमा पहल भए पनि योजना कार्यान्वयनमा पुग्न सकेको थिएन। तर अहिले भने बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल को कार्यकालमा यो प्रक्रिया औपचारिक रूपमा अगाडि बढेपछि राजनीतिक वृत्तमा समेत यसको चर्चा सुरु भएको छ।

स्थानीयस्तरमा अहिले एउटा चर्चा निकै सुनिन थालेको छ — “पहल पहिलेदेखि थियो, तर काम हुने भाग्य धिमालकै पालामा जुर्यो।” यही कारण कतिपयले सांसद धिमाललाई “भाग्यमानी सांसद” को संज्ञा समेत दिन थालेका छन्।
स्थानीयहरूका अनुसार, धिमाल निर्वाचित भएपछि क्षेत्रका विभिन्न प्रशासनिक तथा विकाससम्बन्धी विषयले गति लिन थालेका छन्। कोल्हवीमा भूमि प्रशासन सेवा विस्तार हुनु पनि त्यसकै निरन्तरता भएको उनीहरूको भनाइ छ।
यस निर्णयले कोल्हवीसहित आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ। सेवा आफ्नै क्षेत्रमा उपलब्ध हुँदा समय, खर्च र प्रशासनिक झन्झट कम हुने मात्र होइन, स्थानीयस्तरमै सरकारी सेवाप्रतिको विश्वास समेत बलियो बन्ने अपेक्षा गरिएको छ।







