बन्द कोठामा ‘नागरिक सुनुवाइ’, बाहिरै रोकियो नागरिकको आवाजकोल्हवी, बारा
नागरिकका गुनासा प्रत्यक्ष सुन्ने, प्रहरी सेवाप्रति विश्वास बढाउने र जनतासँग खुला संवाद गर्ने उद्देश्यले आयोजना गरिने नागरिक सुनुवाइ कार्यक्रम नै यसपटक कोल्हवीमा विवादको विषय बनेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सर्वसाधारणको पहुँचभन्दा बाहिर, सीमित व्यक्तिको उपस्थितिमा बन्द कोठाभित्र सम्पन्न भएपछि स्थानीयले कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार कार्यक्रमको नाम नागरिक सुनुवाइ भए पनि त्यसमा आम नागरिकलाई सहभागी हुने अवसर नै दिइएन। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, केही वडा अध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, सीमित व्यापारी तथा केही राजनीतिक दलका प्रतिनिधिहरूलाई मात्र बोलाइएको थियो। तर नागरिक समाज, पीडित पक्ष, सर्वसाधारण तथा स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई भने जानकारीसमेत नगराइएको आरोप छ।
नागरिक सुनुवाइको मूल मर्म प्रहरी र नागरिकबीच प्रत्यक्ष संवाद स्थापना गर्नु हो। तर जनताकै सहभागिताविना कार्यक्रम सञ्चालन गरिनुले नागरिकको आवाज सुन्नेभन्दा औपचारिकता पूरा गर्ने प्रयास मात्र भएको स्थानीयको टिप्पणी छ। उनीहरूका अनुसार यस्तो कार्यक्रम खुला र पारदर्शी हुनुपर्नेमा सीमित घेराभित्र सम्पन्न गरिनुले यसको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।
कोल्हवी क्षेत्रमा पछिल्लो समय चोरी, तस्करी, लागूऔषध कारोबार, तास–जुवा, अवैध मदिरा उत्पादनलगायतका गतिविधिबारे विभिन्न सञ्चारमाध्यममा निरन्तर समाचार सार्वजनिक हुँदै आएका छन्। यस्ता संवेदनशील विषयमा नागरिकले प्रहरी नेतृत्वसँग प्रत्यक्ष प्रश्न राख्ने र जवाफ माग्ने अपेक्षा गरिएको भए पनि कार्यक्रमको स्वरूपले त्यसको अवसर नै नदिएको स्थानीयको गुनासो छ।
यता, कोल्हवीबाटै सञ्चालन हुँदै आएका बाराको गतिविधि र चेरवन्त खबर का पत्रकारहरूलाई समेत कार्यक्रममा निमन्त्रणा वा सूचना नदिइएको भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायले आयोजना गर्ने नागरिक सुनुवाइ जस्ता कार्यक्रम सबै सरोकारवालाको उपस्थितिमा खुला रूपमा सञ्चालन हुनुपर्ने उनीहरूको भनाइ छ। सूचना गोप्य राखेर सीमित व्यक्तिमाझ कार्यक्रम गर्नु पारदर्शिताको सिद्धान्तविपरीत भएको उनीहरूको तर्क छ।
स्थानीय बासिन्दाले आगामी दिनमा नागरिक सुनुवाइलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन, जनताको वास्तविक आवाज सुन्ने र सार्वजनिक रूपमा जवाफ दिने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सर्वसाधारण, नागरिक समाज, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाको खुला सहभागिता सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक बुद्धिमान सुङवाङसङ्गसँग सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन। उहाँको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि प्राथमिकताका साथ समेटिनेछ।








