बारा मधेस प्रदेश

मल अभावको वास्तविक दोषी खोज्न सांसद नै फिल्डमा, कोल्हवीसहित बारा क्षेत्र–१ मा निरन्तर अनुगमन


सुरज बिक्रम, बारा, साउन ६ – बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल रासायनिक मल अभावको समस्या समाधानका लागि आफैं फिल्डमा खटिएका छन्। सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका धिमाल अहिले कोल्हवीसहित क्षेत्र नम्बर–१ का विभिन्न पालिकामा पुगेर मल वितरणको वास्तविक अवस्था बुझ्ने र दोषी निकायको पहिचान गर्ने अभियानमा लागेका छन्।
सांसद धिमालले फेसबुकमा लेखेका छन्, “अब त सुरु नै गरे अति भयो। मल खादको अभाव गर्ने गराउने पालिका हो कि सहकारी? या कृषि सामग्री संस्थान कि साल्ट ट्रेडिङ? सबै को–को कति दोषी, कति सम्मको किसानमारा दुःख दिने राजनीति, यी सबै छर्लङ्ग हुनेछ। सुध्रनु र सच्चिन समय नपाउनुहोला। होसियार।”
उनको यो अभिव्यक्तिपछि उनी सामाजिक सञ्जालमै सीमित नरही प्रत्यक्ष रूपमा फिल्डमा पुगेर अनुगमन गरिरहेका छन्। विभिन्न पालिकाभित्र रहेका सहकारी, मल वितरण केन्द्र तथा सम्बन्धित निकायसँग छलफल गर्दै किसानले समयमै मल किन नपाए भन्ने विषयमा तथ्य संकलन गरिरहेका छन्।
हाल कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, लगायत बारा क्षेत्र–१ का विभिन्न स्थानमा किसानले युरिया र डीएपी मलको अभाव झेलिरहेका छन्। धान खेतीको मुख्य समयमा मल नपाउँदा किसान चिन्तित बनेका छन्।


यही अवस्थालाई मध्यनजर गर्दै सांसद धिमालले वास्तविक समस्या कहाँ छ भन्ने पत्ता लगाउन अनुगमन थालेका हुन्। उनको चासो केवल मल अभाव भएको भन्ने गुनासो सुन्ने मात्र नभई, पालिकाभित्रका सहकारीले समयमा मल वितरण नगरेका हुन् कि स्थानीय तहकै व्यवस्थापन कमजोर हो, वा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाटै पर्याप्त आपूर्ति नभएको हो भन्ने यथार्थ पत्ता लगाउनेतर्फ केन्द्रित देखिन्छ।
विगतका वर्षहरूमा पनि मल अभाव हुँदा एकअर्कामाथि दोष थोपर्ने प्रवृत्ति दोहोरिँदै आएको थियो।

स्थानीय तहले सहकारीलाई दोष दिने, सहकारीले आपूर्ति गर्ने संस्थालाई दोष दिने र किसान भने सधैं मारमा पर्ने अवस्था रहँदै आएको छ। यसपटक भने सांसद धिमालले सबै पक्षको जिम्मेवारी स्पष्ट पार्ने संकेत दिएका छन्।
किसानहरू पनि सांसदको सक्रियतालाई सकारात्मक रूपमा हेरिरहेका छन्। उनीहरूका अनुसार समस्या समाधानका लागि जनप्रतिनिधि आफैं फिल्डमा पुगेर अनुगमन गर्नु स्वागतयोग्य भए पनि यसको अन्तिम परिणाम किसानले समयमै मल पाउने वातावरण बन्नु नै हुनुपर्छ।
अब सांसद धिमालको अनुगमनपछि वास्तविक दोषी पालिका हो, पालिकाभित्रका सहकारी हुन्, कृषि सामग्री कम्पनी हो वा साल्ट ट्रेडिङ कर्पोरेशन हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ। साथै, दोषी देखिएका निकायमाथि आवश्यक कारबाही र किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था हुन्छ कि हुँदैन भन्ने विषयलाई किसानहरूले चासोका साथ हेरिरहेका छन्।
बारा क्षेत्र–१ मा जारी सांसदको यो अनुगमन अभियानले मल अभावको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ। किसानको मुख्य अपेक्षा भने एउटै छ—दोषी जोसुकै भए पनि जवाफदेही बनून् र खेतीको समयमा मल अभावको समस्या तत्काल अन्त्य होस्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *