बारा मधेस प्रदेश

११ वर्षदेखि एउटै नेतृत्वको कब्जामा प्रभावकारी सहकारी ? सदस्यको बचतदेखि सामाजिक सहयोगसम्ममाथि प्रश्न

बारा, कोल्हबी–८ । “सहकारीले जनताको जीवन सहज बनाउने कि झन् पीडा थप्ने ?” — पछिल्लो समय कोल्हबी–८ स्थित श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडमाथि उठिरहेका गम्भीर आरोपहरूले यही प्रश्न खडा गरेको छ। सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेत तथा व्यवस्थापन समूहविरुद्ध आर्थिक अनियमितता, अपारदर्शी कारोबार, मिटर ब्याज शैलीमा ऋण लगानी, सामाजिक सहयोग रकम हिनामिना तथा लामो समयदेखि एउटै समूहले संस्थामाथि कब्जा जमाएको आरोप सार्वजनिक रूपमा उठ्न थालेको हो।

स्थानीयवासी, सहकारीका केही सदस्य तथा पीडित पक्षले दिएको जानकारीअनुसार उक्त सहकारीमा विगत ११ वर्षदेखि एउटै समूहको प्रभाव कायम रहँदै आएको छ। संस्थापक अध्यक्ष किशोर बस्नेतकै नेतृत्वमा सहकारी सञ्चालन हुँदै आएको र संस्थाको निर्णय प्रक्रिया, आर्थिक गतिविधि, ऋण प्रवाह तथा सदस्यहरूसँगको व्यवहारमा पारदर्शिता नभएको भन्दै स्थानीय स्तरमै असन्तुष्टि बढ्दो अवस्थामा रहेको बताइएको छ।

सहकारीका केही सदस्यहरूले आफ्नो बचत रकम फिर्ता लिन खोज्दा विभिन्न बहाना बनाइने, ऋण तिर्न नसक्ने अवस्थाका सदस्यलाई मानसिक दबाब दिइने तथा अत्यधिक ब्याज असुली गरिने आरोप लगाएका छन्। केही स्थानीयले त सहकारीको नाममा मिटर ब्याज शैलीकै आर्थिक कारोबार सञ्चालन भएको दाबी गरेका छन्। “सहकारीभन्दा निजी साहुको व्यवहार बढी देखियो,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।

यति मात्र होइन, सामाजिक सेवाको नाममा उठाइएको रकमसमेत विवादमा परेको छ। मृगौला पीडित बलराम ठकुरीको उपचार सहयोगका लागि विभिन्न व्यक्ति तथा स्थानीयबाट रकम संकलन गरिएको भए पनि उक्त रकम पूर्ण रूपमा पीडितसम्म नपुगेको आरोप लागेको हो। पीडित निकट स्रोतका अनुसार सहयोग अभियानमा उठेको रकमको स्पष्ट विवरण आजसम्म सार्वजनिक गरिएको छैन। “सामाजिक कामको नाममा जनताको भावनामाथि खेलबाड भयो,” स्थानीयको आरोप छ।

स्थानीयवासीका अनुसार उक्त सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेतले बेला–बेला सामाजिक कार्य, सहयोग अभियान तथा जनहितका कार्यक्रमको प्रचार गरे पनि वास्तविक रूपमा त्यसको प्रभाव र पारदर्शितामाथि प्रश्न उठ्ने गरेको छ। कतिपयले सहकारी संस्थालाई सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम बनाइएको टिप्पणीसमेत गरेका छन्।

स्रोतका अनुसार संस्थाभित्र आर्थिक निर्णयहरू सीमित व्यक्तिको नियन्त्रणमा हुने गरेका छन् भने साधारण सदस्यलाई संस्थाको वास्तविक आर्थिक अवस्था, आय–व्यय तथा लगानीबारे स्पष्ट जानकारी दिइँदैन। वार्षिक साधारणसभा, लेखापरीक्षण तथा वित्तीय प्रतिवेदनलाई समेत औपचारिकतामा सीमित गरिएको आरोप सदस्यहरूको छ।

स्थानीय स्तरमा अर्को गम्भीर चर्चा भनेको संस्थापक अध्यक्ष किशोर बस्नेतको व्यक्तिगत आर्थिक कारोबारलाई लिएर पनि छ। केही पीडितहरूले सहकारीको प्रभाव प्रयोग गर्दै व्यक्तिगत रूपमा समेत आर्थिक लेनदेन गरिएको तथा ऋण असुलीमा दबाबमूलक शैली अपनाइएको बताएका छन्। यद्यपि, यी आरोपहरूबारे सहकारी व्यवस्थापन तथा किशोर बस्नेतको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देशभर विभिन्न अनियमितताका घटना बाहिरिइरहेका बेला कोल्हबीस्थित यस सहकारीमाथि उठेका आरोपले स्थानीय तहदेखि सम्बन्धित नियामक निकायसम्मको ध्यान तानेको छ। स्थानीय सरोकारवालाले संस्थाको सम्पूर्ण आर्थिक कारोबार, सहयोग संकलन, ऋण लगानी तथा व्यवस्थापन प्रक्रियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

“यदि सहकारीको नाममा सर्वसाधारणको बचत दुरुपयोग भएको हो भने दोषीमाथि कानुनी कारबाही हुनुपर्छ,” स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

यस विषयमा सहकारी व्यवस्थापन पक्षसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा आगामी संस्करणमा समावेश गरिने जनाइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *