बारा मधेस प्रदेश

कोल्हवीमा प्रभु हस्पिटलको नि:शुल्क स्वास्थ्य शिविर, २०० जना लाभान्वित

बारा । वीरगन्जस्थित प्रभु हस्पिटलले “घरदैलोमा डाक्टर” अभियानअन्तर्गत बाराको कोल्हवी नगरपालिका वडा नं. ८ मा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। अस्पतालसम्म सहज पहुँच नपुगेका विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. शाश्वत साहले बिरामीहरूको हाडजोर्नीसम्बन्धी विस्तृत परीक्षण गर्नुका साथै नितम्ब (हिप) र घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी विशेष परामर्श प्रदान गर्नुभएको थियो। शिविरमा सहभागी बिरामीहरूको नि:शुल्क मधुमेह (सुगर) परीक्षण गरिनुका साथै आवश्यक औषधि वितरणसमेत गरिएको थियो।

त्यसैगरी, वीरगन्ज सामुदायिक आँखा अस्पतालको संयुक्त प्राविधिक सहकार्यमा नि:शुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। आँखा विशेषज्ञ महेश सिंह धामी नेतृत्वको टोलीले स्थानीय बासिन्दाको आँखा परीक्षण गरी आवश्यक औषधि वितरण गरेको थियो। परीक्षणका क्रममा मोतियाविन्दु फेला परेका बिरामीलाई तत्काल अस्पताल लगेर नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार शिविरबाट कुल २०० जना स्थानीय लाभान्वित भएका छन्, जसमा ११० महिला र ९० पुरुष रहेका छन्। कार्यक्रममा वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा औषधि सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका छन्। वडा अध्यक्ष अनुप सुवेदीले हस्पिटल परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सेवामूलक कार्यक्रमले ग्रामीण नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो।

कार्यक्रम प्रमुख दिलीपराज कार्कीले उपचारको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। वडा संयोजक विशाल ठकुरीले स्वास्थ्य संस्थाहरूले व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै यस्ता लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *