कोल्हवीको राहत अभियानमा राजनीतिक दलदेखि संघसंस्थासम्मको साथ, १ लाख २६ हजार ३३० नगदसहित राहत सामग्री बाढीपीडितका लागि पठाइयो
सुरज बिक्रम कोल्हवी । बाढी तथा विपद्बबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कोल्हवी उद्योग वाणिज्य संघको पहलमा संकलन गरिएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा भोटेकोशी, रसुवा र नुवाकोटका बाढीपीडितका लागि पठाइएको छ।
कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रसाईका अनुसार संघले कोल्हवी नगरपालिकाभित्र पर्ने बजार क्षेत्रमा मात्रै राहत संकलन अभियान सञ्चालन गरेको हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, संघसंस्था तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको महत्वपूर्ण सहभागिता रहेको उनले बताए।

राहत संकलनका क्रममा नगद रु. १ लाख २६ हजार ३३० जम्मा भएको थियो। त्यसैगरी खाद्यान्न तथा अत्यावश्यक जिन्सी सामग्रीसमेत उल्लेख्य मात्रामा संकलन गरिएको संघले जनाएको छ।
संकलित राहत सामग्रीमा चामल २५ बोरा, चिउरा ३५ बोरा, चाउचाउ ४६ कार्टुन, सोयाबिन ४ बोरा, मुडा १६ बोरा, बिस्कुट १० कार्टुन, दालमोट १ बोरा, मिनरल वाटर ३८ कार्टुन, नुन १ बोरा, सेनेटरी प्याड ५० पीस, मास्क ६ प्याकेट, मुसुरो दाल १४ केजी र त्रिपाल ७ वटा रहेका छन्।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रसाईले राहत संकलन कार्यक्रममा सहभागी सम्पूर्ण राजनीतिक दल, संघसंस्था, उद्योगी, व्यवसायी तथा सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। सबै पक्षको सहकार्य र सहयोगकै कारण राहत संकलन अभियान सफल भएको उनको भनाइ छ।
उनले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन्। विपद्को समयमा राजनीतिक आस्था तथा संगठनभन्दा माथि उठेर पीडित नागरिकका लागि सबै पक्ष एक ठाउँमा उभिनु सकारात्मक भएको अध्यक्ष प्रसाईले बताए।
राहत संकलन तथा व्यवस्थापनका लागि गठन गरिएको समितिमा सहभागी कोल्हवी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समितिका उपाध्यक्ष जितन चौधरीले राहत संकलनदेखि व्यवस्थापनसम्मका सम्पूर्ण कामलाई पारदर्शी रूपमा सम्पन्न गरिएको दाबी गरेका छन्।

चौधरीका अनुसार संकलन भएका सम्पूर्ण नगद तथा जिन्सी सामग्रीको हिसाब पारदर्शी रूपमा राखिएको छ। राहत अभियानमा प्राप्त भएको सहयोग, संकलित सामग्री तथा नगद रकमको विवरण समितिले व्यवस्थित रूपमा राख्दै पारदर्शितालाई प्राथमिकता दिएको उनले बताए।
उनले संकलित नगद रु. १ लाख २६ हजार ३३० प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारीसमेत दिए। राहत संकलनमा प्राप्त रकमलाई व्यक्तिगत वा अन्य प्रयोजनमा प्रयोग नगरी सम्बन्धित सरकारी कोषमा जम्मा गरिएको चौधरीको भनाइ छ।
चौधरीले राहत सामग्रीसमेत सम्बन्धित निकायको समन्वयमा प्रभावित क्षेत्रमा पठाइएको बताए। उनका अनुसार राहत संकलनको उद्देश्य केवल सामग्री जम्मा गर्नु नभई वास्तविक विपद् प्रभावित नागरिकसम्म सहयोग पुर्याउनु रहेको थियो।

जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा आज भोटेकोशी, रसुवा र नुवाकोटका बाढीपीडितका लागि राहत सामग्री पठाइएको उद्योग वाणिज्य संघले जनाएको छ। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत पठाइएको हो।
राहत अभियानमा कोल्हवीका विभिन्न राजनीतिक दल तथा संघसंस्थाको सहभागिताले स्थानीय तहमा विपद् व्यवस्थापन तथा मानवीय सहयोगका लागि सामूहिक पहलको वातावरण बनेको सहभागीहरूको भनाइ छ।
उद्योग वाणिज्य संघ कोल्हवीले बजार क्षेत्रबाट संकलन गरेको राहतलाई व्यवस्थित रूपमा सम्बन्धित क्षेत्रमा पुर्याउन पहल गरेपछि स्थानीय व्यवसायी तथा सामाजिक संघसंस्थाले समेत सहयोग गरेका थिए। अभियानमा प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गरिएको समितिका सदस्य चौधरीले बताए।
उनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् तथा सामाजिक क्षेत्रमा आवश्यकताअनुसार सहकार्य गर्नुपर्नेमा जोड दिए।
यस अभियानले कोल्हवीका उद्योगी–व्यवसायी, राजनीतिक दल, संघसंस्था र नागरिकबीचको सहकार्यबाट विपद्मा परेका नागरिकलाई सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। राहत संकलनसँगै नगद रकम सरकारी उद्धार कोषमा जम्मा गर्नु र जिन्सी सामग्री प्रभावित क्षेत्रमा पठाउनु अभियानको महत्वपूर्ण पक्ष बनेको छ।











