कोल्हवीमा पाठेघरमुख तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुने
बारा — कोल्हवी क्षेत्रमा महिलाहरूमा देखिने पाठेघरमुख (सर्भाइकल) तथा स्तन क्यान्सरको समयमै पहिचान र उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लडदान) बारा जिल्ला शाखाको आयोजनामा तामागढी अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार लामो समयदेखि लुकाएर बस्ने वा बेवास्ता गरिने यस्ता गम्भीर रोगबारे जनचेतना अभिवृद्धि गर्दै महिलाहरूलाई निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ।

“पाठेघरमुख तथा स्तन क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे निको हुन सक्छ” भन्ने सन्देशसहित सञ्चालन हुने शिविरमा सहभागी भई अवसरको लाभ लिन आयोजकले सबैलाई आग्रह गरेको छ।
शिविर २०८३ वैशाख २६ गते शनिबार बिहान ५:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म तामागढी अस्पताल प्रा.लि.को प्राङ्गण, कोल्हवी–१ मनकामना चोकमा सञ्चालन हुनेछ।
शिविरमा सहभागी हुन इच्छुकहरूले अग्रिम नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि आयोजकले विभिन्न सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ।
यसैबीच, आयोजकले स्थानीय टोल–छिमेकमा सूचना प्रवाह गरी बढीभन्दा बढी महिलाहरूलाई शिविरमा सहभागी गराउन सहयोग गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।







