निजगढ विमानस्थल–फास्ट ट्र्याकले बदलिँदैछ बाराको भविष्य, पर्यटन हब बनाउने तयारी
सुरज विक्रम | बारा
मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थल, राष्ट्रिय गौरवका आयोजना तथा विकास निर्माणसँग सम्बन्धित योजनाको स्थलगत अवलोकन गर्ने क्रममा पर्यटन तथा संस्कृति मन्त्री खड्गराज पौडेल (गणेश पौडेल) ले बाराको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र तथा फास्ट ट्र्याकको स्थलगत अवलोकन गरेका छन्।
मन्त्री पौडेलले मधेश प्रदेशका विभिन्न सम्भावित पर्यटकीय क्षेत्र तथा महत्वपूर्ण आयोजनाको अवस्थाबारे जानकारी लिने क्रममा निजगढ पुगेका हुन्। अवलोकनका क्रममा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक, स्थानीय पर्यटन तथा प्राकृतिक स्रोतसाधनलाई एकीकृत रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो।
स्थलगत अवलोकनका क्रममा रास्वपा निजगढ नगर सभापति सन्दीप भट्टराई तथा नगर समितिको टोलीले निजगढलाई पर्यटन, हरियाली र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने धारणा मन्त्री पौडेलसमक्ष राखेको थियो। नगर समितिले निजगढको सम्भावना बोकेको मोहोरी खोलाको पानीलाई व्यवस्थित रूपमा सञ्चय तथा उपयोग गर्न सके नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएको थियो।

नगर समितिले मोहोरी खोलाको पानीलाई संरक्षण तथा सञ्चय गरी कृषि, पर्यटन, हरियाली प्रवर्द्धन तथा स्थानीय आवश्यकतामा उपयोग गर्न सकिने सम्भावनाबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएको थियो। प्राकृतिक स्रोतसाधनको संरक्षण गर्दै त्यसको योजनाबद्ध उपयोग गर्न सके निजगढलाई हरित तथा पर्यटनको हबका रूपमा विकास गर्न सकिने समितिको धारणा थियो।
निजगढमा रहेको प्राकृतिक सौन्दर्य, वन क्षेत्र, जलस्रोत तथा अन्य सम्भावित पर्यटकीय क्षेत्रलाई प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर विकास गर्न सके यस क्षेत्रको आर्थिक गतिविधिमा ठूलो परिवर्तन ल्याउन सकिने नगर समितिले जनाएको थियो।

त्यस्तै रास्वपा निजगढ नगर सभापति सन्दीप भट्टराईले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याक एकअर्काका मेरुदण्ड रहेको बताएका छन्। उनले दुवै आयोजनालाई एकीकृत पूर्वाधारका रूपमा अघि बढाउन सके निजगढको विकासले अपेक्षाकृत गति लिन सक्ने बताए।
भट्टराईका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि राजधानी तथा अन्य क्षेत्रबाट आउने यात्रु र पर्यटकलाई सहज रूपमा निजगढ तथा आसपासका पर्यटकीय क्षेत्रमा पुर्याउन फास्ट ट्र्याकको महत्वपूर्ण भूमिका रहनेछ। त्यस्तै फास्ट ट्र्याकमार्फत काठमाडौंसँगको सहज पहुँच स्थापित हुँदा विमानस्थलको उपयोगिता र आर्थिक सम्भावना समेत बढ्ने उनको भनाइ थियो।

उनले विमानस्थल र फास्ट ट्र्याक निर्माणसँगै निजगढमा होटल, पर्यटन, यातायात, व्यापार तथा अन्य व्यवसायिक गतिविधि विस्तार हुने अपेक्षा व्यक्त गरे। यसले स्थानीय युवाका लागि रोजगारी तथा उद्यमशीलताको नयाँ अवसर सिर्जना गर्ने र नगरको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उनको भनाइ थियो।
भट्टराईले विमानस्थल र फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका आयोजनाबाट सिर्जना हुने अवसर स्थानीय नागरिकले समेत प्रत्यक्ष रूपमा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ठूला आयोजना निर्माणसँगै स्थानीय उत्पादन, पर्यटन, कृषि तथा साना तथा मझौला व्यवसायलाई जोड्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने उनको धारणा थियो।
यता कोल्हवी नगर रास्वपा सभापति थानेश्वर पहाडीले विमानस्थल र फास्ट ट्र्याक निर्माण सम्पन्न भएसँगै कोल्हवी तथा निजगढका स्थानीयको आर्थिक जीवनमा ठूलो परिवर्तन आउन सक्ने बताएका छन्।
पहाडीले दुवै आयोजना सञ्चालनमा आएपछि व्यापार–व्यवसाय विस्तार हुने र त्यसबाट स्थानीय नागरिकको आयआर्जनमा वृद्धि हुने बताए। सडक तथा हवाई पहुँच विस्तारसँगै बजारको आकार बढ्ने, होटल तथा पर्यटन व्यवसाय फस्टाउने, यातायात सेवा विस्तार हुने र स्थानीय उत्पादनले नयाँ बजार पाउने उनको भनाइ थियो।

उनका अनुसार विमानस्थल तथा फास्ट ट्र्याकले कोल्हवी र निजगढ क्षेत्रलाई राजधानी तथा देशका अन्य प्रमुख शहरसँग जोड्ने भएकाले स्थानीय उत्पादन तथा सेवाको माग बढ्न सक्छ। त्यसबाट व्यापार–व्यवसायमा संलग्न स्थानीय नागरिकको आर्थिक अवस्था सुधार हुनुका साथै नयाँ पुस्ताका लागि रोजगारीका अवसर समेत सिर्जना हुने पहाडीले बताए।
पहाडीले ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय नागरिकको सहभागिता र लाभ सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए। आयोजना निर्माण तथा सञ्चालनबाट सिर्जना हुने अवसर स्थानीय तहका नागरिकसम्म पुर्याउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
अवलोकन कार्यक्रममा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको समेत सहभागिता रहेको थियो। धिमालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा क्षेत्र नं. १ मात्र नभई मधेश प्रदेशकै आर्थिक तथा पर्यटन विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा निजगढ नगरपालिका रास्वपा सभापति सन्दीप भट्टराईसहित नगर समितिको टोली, कोल्हवी नगर रास्वपा सभापति थानेश्वर पहाडीसहित नगर समिति टोली तथा कोल्हवी नगर रास्वपा RAT टोलीका सभापति सरिफ राना भाटलगायतको सहभागिता रहेको थियो।

स्थलगत अवलोकनका क्रममा विमानस्थल क्षेत्रको अवस्था, फास्ट ट्र्याकसँगको सम्बन्ध, पर्यटन विकासको सम्भावना, जलस्रोतको संरक्षण तथा स्थानीय आर्थिक गतिविधि विस्तारका विषयमा छलफल भएको थियो।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याक निर्माणले बारा तथा समग्र मधेश प्रदेशको आर्थिक, पर्यटन तथा पूर्वाधार विकासमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय प्राकृतिक स्रोतसाधनको संरक्षण, पर्यटन प्रवर्द्धन र ठूला पूर्वाधारलाई स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउन सके निजगढ र कोल्हवी क्षेत्रले आगामी दिनमा नयाँ आर्थिक तथा पर्यटन केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्ने देखिन्छ।











