बारा मधेस प्रदेश

कोल्हबीमा सामूहिक तरकारी खेतीसम्बन्धी ५ दिने व्यावसायिक तालिम सुरु

सुरज बिक्रम, बारा, कोल्हबी । जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सामूहिक तरकारी खेतीसम्बन्धी ५ दिने व्यावसायिक तालिम कोल्हबीमा सुरु भएको छ। स्थानीय कृषकलाई आधुनिक तथा व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम २०८३ साल जेठ ३१ गतेदेखि असार ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

तालिम उद्घाटन कार्यक्रम जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ललितनारायण चौधरीले गरेका थिए भने कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा उप–नगर प्रमुख लक्ष्मी कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय कृषक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। विशेष रूपमा वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनालीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घोषण धिरेन्द्र पहनुरले गरेका थिए। उद्घाटन समारोहमा सहभागी कृषकहरूलाई व्याच वितरण गरिएको थियो भने राष्ट्रिय गानसहित कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो।

तालिम अवधिभर कृषकहरूलाई सामूहिक तरकारी खेती, आधुनिक कृषि प्रविधि, बीउ व्यवस्थापन, मलखाद प्रयोग, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा व्यावसायिक कृषि प्रणालीका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिइने बताइएको छ। आयोजकका अनुसार यस तालिमले कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम प्रसाद चौधरीले कृषि क्षेत्रलाई आधुनिक र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले कृषिलाई रोजगारी र आयआर्जनको प्रमुख माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै कृषकलाई व्यावसायिक खेतीतर्फ अग्रसर हुन आग्रह गरे।

त्यसैगरी उप–नगर प्रमुख लक्ष्मी कुमारी चौधरीले महिलाहरूलाई समेत कृषि क्षेत्रमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै सामूहिक खेतीमार्फत आर्थिक सशक्तिकरण सम्भव हुने धारणा व्यक्त गरिन्।

कार्यक्रममा आयोजक संस्था जितिया बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरूले कृषि क्षेत्रको विकासका लागि सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए। सहकारीका उपाध्यक्ष जगदेव चौधरीले कृषि सम्बन्धी आफ्नो महत्वपूर्ण भनाइ राख्दै परम्परागत खेती प्रणालीबाट माथि उठेर आधुनिक तथा व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले सामूहिक तरकारी खेतीले उत्पादन वृद्धि गर्नुका साथै लागत कम गर्न र कृषकको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

उपाध्यक्ष चौधरीले अहिलेको अवस्थामा युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा कृषि क्षेत्रमै सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै आधुनिक कृषि प्रविधि र सीपमार्फत गाउँमै रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे। उनले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागी कृषकहरूलाई आग्रह समेत गरेका थिए।

आयोजकका अनुसार उक्त तालिममा २५ जना कृषकको सहभागिता रहनेछ। तालिमपछि सहभागी कृषकहरूले सामूहिक रूपमा तरकारी खेती गर्ने योजना रहेको जनाइएको छ। साथै सहभागी २५ जना कृषकलाई प्रोत्साहनस्वरूप प्रतिव्यक्ति २६ हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार तालिमले स्थानीय स्तरमा उत्पादन वृद्धि गरी कृषकको आर्थिक अवस्था सुधार गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *