बारा मधेस प्रदेश

तामागढीदेखि सिम्रौनगढसम्म ४० किलोमिटर सडक सरसफाइ तीव्र, दुर्घटना न्यूनीकरणमा हेटौंडा सडक डिभिजनको पहल

बारा । हेटौंडा सडक डिभिजन कार्यालयले तामागढीदेखि सिम्रौनगढसम्मको करिब ४० किलोमिटर सडकखण्डको दायाँ–बायाँ सरसफाइ तथा झाडी फँडानी कार्यलाई तीव्रता दिएको छ। सडक किनारमा बढेका झाडी, बोटबिरुवा तथा अनावश्यक वनस्पति हटाउँदै सडकलाई थप खुला, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो।

सडक सरसफाइको काम गत साउन १८ गतेदेखि सुरु गरिएको हो। हाल उक्त सडकखण्डमा सरसफाइ तथा झाडी फँडानीको काम तीव्र गतिमा भइरहेको सरसफाइ कार्यका सुपरभाइजर केबल न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार सडकको दायाँ–बायाँ बढेका झाडी तथा अन्य अवरोध हटाउँदा चालकलाई सडकको अवस्था स्पष्ट रूपमा देख्न सहज हुन्छ। विशेषगरी घुम्ती, मोड तथा सडक किनारमा झाडीका कारण दृश्यता कम हुने अवस्थालाई हटाउन सरसफाइले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

हेटौंडा सडक डिभिजन कार्यालयका प्रमुख किरण कार्कीले पछिल्लो समय उक्त सडकखण्डमा दुर्घटना हुने क्रम देखिएकाले सडकलाई थप सुरक्षित बनाउन सरसफाइ कार्यलाई प्राथमिकतामा राखिएको बताए।

कार्कीका अनुसार सडकको दुवैतर्फको क्षेत्र सफा भएपछि चालकको दृश्य क्षमता बढ्नुका साथै सडकका मोड, घुम्ती तथा किनार स्पष्ट देखिनेछन्। यसले सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए।

उनले सडक निर्माण वा मर्मत गर्नु मात्र पर्याप्त नभई सडकको नियमित सरसफाइ तथा संरक्षण पनि सडक सुरक्षाको महत्वपूर्ण पक्ष भएको बताए। त्यसैले यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राख्दै सडकको दायाँ–बायाँको क्षेत्र सफा गर्ने कामलाई अघि बढाइएको कार्कीको भनाइ छ।

विशेषगरी सडक किनारमा लामो समयदेखि बढेका झाडी तथा बोटबिरुवाका कारण कतिपय स्थानमा सडकको दृश्यता कम हुने गरेको स्थानीयको भनाइ छ। सरसफाइपछि सडक फराकिलो तथा खुला देखिन थालेको र यात्रा गर्नसमेत सहज भएको स्थानीयले बताएका छन्।

स्थानीयवासीले सडक डिभिजन कार्यालयले थालेको सरसफाइ कार्यको प्रशंसा गर्दै यसलाई नियमित रूपमा निरन्तरता दिनुपर्ने बताएका छन्। सडक सफा राख्नुका साथै आवश्यक स्थानमा सडक संकेत, सुरक्षा संरचना तथा अन्य पूर्वाधारको समेत नियमित निरीक्षण गर्न सके दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्ने उनीहरूको भनाइ छ।

सरसफाइ अभियानप्रति स्थानीयवासीले हेटौंडा सडक डिभिजन प्रमुख किरण कार्कीसहित कार्यालयका कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। सडक डिभिजनका कर्मचारी साजन चौधरी लगायतको सहभागितामा सरसफाइ कार्य भइरहेको बताइएको छ।

तामागढीदेखि सिम्रौनगढसम्मको करिब ४० किलोमिटर सडकखण्डमा भइरहेको सरसफाइले सडकको स्वरूप सुधार गर्नुका साथै यात्रु तथा सवारी चालकको सुरक्षामा समेत प्रत्यक्ष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पछिल्लो समय सडक दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था सुधार, नियमित अनुगमन र सरसफाइलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेका बेला हेटौंडा सडक डिभिजन कार्यालयले अघि बढाएको यो अभियानलाई स्थानीयस्तरमा सकारात्मक पहलका रूपमा हेरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });