वसन्त चौधरीको नेतृत्वमा कोल्हवी कांग्रेसको नयाँ टिम सर्वसम्मत, रविन्द्र उपसभापति; युवा नेता हरेराम चौधरीको समन्वयकारी भूमिका
कोल्हवी, बारा ।
नेपाली कांग्रेस कोल्हवी नगर समितिको तेस्रो अधिवेशनले वसन्त चौधरीलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको छ। बाराको कोल्हवी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा शुक्रबार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नगर समितिको नयाँ नेतृत्व चयनका क्रममा पार्टीभित्र सहमति र समन्वय कायम गर्न युवा नेता तथा युवा व्यवसायी हरेराम चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेतृत्वका विषयमा सहमति जुटाउन तथा विभिन्न पक्षबीच समन्वय गर्न चौधरीले सक्रियता देखाएको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्।

युवा पुस्तामाझ समेत सक्रिय रहेका चौधरीले पार्टीको संगठनलाई बलियो बनाउन आपसी समझदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै अधिवेशनलाई सहमतिका साथ सम्पन्न गराउन पहल गरेका थिए। उनको सक्रियताले नयाँ नेतृत्व चयनमा सहमतिको वातावरण बनाउन सहयोग पुगेको स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइ छ।
अधिवेशनबाट नगर उपसभापतिमा रविन्द्र चौधरी र महिला उपसभापतिमा गंगा सुवेदी चयन भएका छन्। त्यस्तै सचिवमा रामबाबु चौधरी, सह–सचिवमा वीरबहादुर लामा तथा कोषाध्यक्षमा रामेश्वर थापा सर्वसम्मत चयन भएका छन्।

नगर कार्यसमिति सदस्यहरूमा गणेशराज भारती, सुभाष मैनाली, रामाधार साह कानु, हरिवंश चौधरी, बालेश्वर चौधरी र विश्वनाथ राम चयन भएका छन्। ३० वर्षमुनिका सदस्यतर्फ रमेश खाँ र वसन्त चौधरी तथा दलित सदस्यतर्फ ललिता कुमारी राम चयन भएका छन्।
नगर कार्यसमितिमा रहने दुई महिला सदस्य भने पछि चयन गरिने नवनिर्वाचित सभापति वसन्त चौधरीले जानकारी दिएका छन्।
अधिवेशनमा नेपाली कांग्रेसका नेता रविन्द्र पुनुहर, उपेन्द्र चौधरी, नारायण अधिकारी, भरत वाग्ले र कृष्णदेव चौधरीसहित पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो। अधिवेशनमा पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, स्थानीय तहमा कांग्रेसको सक्रियता बढाउने तथा जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको थियो।

नवनिर्वाचित सभापति वसन्त चौधरीले आफूलाई नगर नेतृत्वको जिम्मेवारी दिएकोमा पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै कोल्हवीमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले वडा तहसम्म पार्टी संगठनलाई सक्रिय बनाउने, युवालाई पार्टीको संगठनमा थप जोड्ने तथा नगरवासीका समस्या र स्थानीय जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
कोल्हवी नगरमा कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वले आगामी दिनमा पार्टीका गतिविधिलाई अघि बढाउने जनाएको छ। अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन हुनुका साथै युवा नेता तथा व्यवसायी हरेराम चौधरीलगायतको समन्वयकारी भूमिकाले पार्टीभित्र सहकार्य र एकताको सन्देश दिएको कांग्रेसका स्थानीय कार्यकर्ताहरूको भनाइ छ।











