बारा

सत्य खोज्ने पत्रकारमाथि दबाब, कागजात बोकेर हिँड्नेलाई संरक्षण

बारा, कोल्हबी । कोल्हबी नगरपालिका–९ मुसर्नास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मुसर्ना को सरकारी कागजात प्रयोगसम्बन्धी विवादले नयाँ मोड लिएको छ। विद्यालयको आधिकारिक कागजात लिएर विभिन्न निकायमा हिँड्ने व्यक्तिमाथि प्रश्न उठिरहेका बेला तथ्य खोज्न र प्रतिक्रिया लिन खोज्ने पत्रकारमाथि नै एकतर्फी दबाब सिर्जना गरिएको आरोप सार्वजनिक भएको छ।

स्थानीयवासीका अनुसार आफूलाई टोल विकास संस्थाको सचिव बताउने तेज नारायण पटेलले विद्यालयसँग सम्बन्धित विभिन्न सरकारी कागजात बोकेर कार्यालय–कार्यालय धाउने गरेका छन्। तर ती कागजात प्रयोग गर्ने कानुनी अधिकार उनलाई कसले दिएको हो भन्ने विषयमा हालसम्म स्पष्ट जवाफ आउन सकेको छैन।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक वा सम्बन्धित निकायको लिखित अनुमति बिना सार्वजनिक विद्यालयका कागजात प्रयोग गरिएको हो कि होइन भन्ने विषयमा स्थानीयस्तरमै व्यापक चासो र बहस सुरु भएको छ। कतिपय स्थानीयले सार्वजनिक संस्थाको कागजात दुरुपयोग हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

यही विषयमा वास्तविकता बुझ्न कोल्हबी न्युज का प्रबन्धक तथा पत्रकार आशेस ढुङ्गाना ले सम्बन्धित पक्षसँग प्रतिक्रिया लिन खोजेका थिए। तर सूचना उपलब्ध गराउनुको सट्टा पत्रकारमाथि नै दबाब सिर्जना गरिएको आरोप स्थानीयले लगाएका छन्।

विवाद चर्किएपछि नेपाल पत्रकार महासंघ बारा शाखा का कार्यसमिति सदस्य नवीन चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी कोल्हबी नगर सभापति थानेश्वर पहाडी तथा बाराको गतिविधिका सञ्चालक सुरज विक्रम थापा सहितको टोली मुसर्ना प्रहरी चौकी पुगेको थियो। सो क्रममा पत्रकार ढुङ्गानाले तेज नारायण पटेलसँग भएको टेलिफोन संवादको अडियो रेकर्ड चौकी प्रमुखसहित त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई सुनाएका थिए।

उक्त अडियो संवादमा पत्रकार ढुङ्गानाले तेज नारायण पटेललाई कुनै गालीगलौज वा अभद्र व्यवहार नगरेको स्पष्ट रूपमा सुनिएको सहभागीहरूको दाबी छ। संवादको विषयवस्तु विद्यालयको कागजात प्रयोगसम्बन्धी जानकारी र प्रतिक्रिया लिन केन्द्रित रहेको बताइएको छ। त्यसैले उक्त अडियोले विवादको वास्तविकता प्रष्ट पार्न सहयोग पुग्ने अपेक्षा गरिएको भए पनि प्रहरीले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाइएको छ।

स्थानीय स्रोतका अनुसार विद्यालयको कागजात कसरी प्रयोग भइरहेको छ भन्ने मूल प्रश्नको जवाफ खोज्नुभन्दा प्रहरी प्रशासनले पत्रकारमाथि नै केन्द्रित भएर गतिविधि गरेको देखिएको छ। पत्रकारलाई पटक–पटक चौकी धाउन लगाउने, मानसिक तनाव दिने तथा दबाब महसुस गराउने किसिमका व्यवहार भएको आरोपसमेत लगाइएको छ।

स्थानीय सरोकारवालाहरूले सार्वजनिक निकायका गतिविधिबारे प्रश्न उठाउनु र तथ्य खोज्नु पत्रकारको संवैधानिक तथा पेशागत दायित्व भएको बताएका छन्। उनीहरूका अनुसार सार्वजनिक विद्यालयको कागजात कसले, किन र कुन अधिकारका आधारमा प्रयोग गरिरहेको छ भन्ने विषयमा जवाफ दिनुपर्ने पक्ष मौन बस्ने तर प्रश्न गर्ने पत्रकारमाथि दबाब सिर्जना हुनु लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको विपरीत हो।

कतिपय स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा यदि कुनै गलत कार्य भएको छैन भने सम्बन्धित पक्षले प्रमाणसहित स्पष्ट जवाफ दिनुपर्ने हो, तर त्यसको सट्टा सूचना माग्ने पत्रकारलाई नै निशाना बनाइनुले थप शंका उत्पन्न गरेको छ।

यस घटनाले सार्वजनिक विद्यालयका कागजातको सुरक्षा, सार्वजनिक निकायको पारदर्शिता, प्रहरी प्रशासनको निष्पक्षता तथा प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको स्थानीयको भनाइ छ। उनीहरूले सम्पूर्ण घटनाबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

घटनाबारे आरोपित भनिएका तेज नारायण पटेल, विद्यालय प्रशासन तथा सम्बन्धित प्रहरी निकायको औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *