प्रदेश खबर बारा मधेस प्रदेश

सूचना बोर्ड छैन, सुरक्षा व्यवस्था छैन; समा कन्ट्रक्सनलाई जंगबहादुर शाहसहित जनप्रतिनिधिको खबरदारी

सुरज विक्रम , कोल्हबी, बारा । कोल्हबी नगरपालिका वडा नम्बर ४ सिपाहीदेखि वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने सोनाभार–प्रसौना बजार जोड्ने निर्माणाधीन कृषि सडकमा सुरक्षा मापदण्डको बेवास्ता गरिएको भन्दै जनप्रतिनिधि तथा स्थानीयवासीले निर्माण कम्पनीलाई कडा खबरदारी गरेका छन्।

विगत केही महिनादेखि वीरगञ्जस्थित समा कन्ट्रक्सन कम्पनी ले निर्माण गरिरहेको उक्त सडकमा सूचना बोर्ड, सावधानी संकेत तथा अन्य आवश्यक सुरक्षा व्यवस्था नहुँदा सर्वसाधारण दैनिक रूपमा दुर्घटनाको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्। सडक निर्माणका क्रममा खाल्डाखुल्डी खुला छाडिएको, निर्माण सामग्री जथाभावी राखिएको तथा जोखिमयुक्त स्थानमा कुनै चेतावनी संकेत नराखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए।

Screenshot

यही विषयलाई लिएर आज कोल्हबी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश चौधरी, जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगबहादुर शाह लगायत स्थानीयवासीहरू निर्माणस्थलमै पुगेर स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा जनप्रतिनिधि तथा स्थानीयले निर्माण कम्पनीका इन्चार्ज र सम्बन्धित प्रतिनिधिलाई तत्काल सुरक्षा व्यवस्था मिलाउन कडा निर्देशन दिएका छन्। उनीहरूले सडक निर्माण कार्य जनताको हितका लागि भए पनि सुरक्षा मापदण्डलाई पूर्ण रूपमा बेवास्ता गरिनु गैरजिम्मेवार कार्य भएको बताएका छन्।

Screenshot

स्थानीयका अनुसार उक्त सडक दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, किसान तथा सवारी साधनले प्रयोग गर्दै आएका छन्। तर निर्माण कम्पनीले न्यूनतम सावधानीसमेत नअपनाउँदा दुर्घटनाको सम्भावना बढेको छ। विशेषगरी रातिको समयमा सडक प्रयोग गर्नेहरू थप जोखिममा पर्ने गरेका छन्।

स्थलगत निरीक्षणका क्रममा जंगबहादुर शाहले जनताको ज्यानसँग खेलवाड हुने गरी कुनै पनि निर्माण कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले निर्माण कम्पनीलाई तत्काल सूचना बोर्ड, सावधानी संकेत र आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्दै लापरवाही दोहोरिए सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराइने बताए।

वडा अध्यक्षद्वय नन्दकिशोर चौधरी र दिनेश चौधरीले पनि निर्माण कम्पनीलाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन्। उनीहरूले जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने स्पष्ट पारे।

स्थानीयवासीले समेत सडक निर्माण कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्। निर्माण कम्पनीले तत्काल आवश्यक सुधार नगरे थप दबाबमूलक कदम चालिने चेतावनीसमेत दिइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *